काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले नेपालको नागरिकता नियमावलीको पछिल्लो संशोधनप्रति गम्भीर आपत्ति जनाएकी छन् ।

मंगलबार सरकारले सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतापत्रप्रति असन्तुष्टि व्यक्त गर्दै सांसद तामाङले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त नियमावलीका केही प्रावधानले प्रवासी नेपालीहरूमाथि विभेद गरेको बताएकी छन् ।

नियमावलीको नियम ७ (क) र सम्बन्धित कार्यविधिले विदेशको स्थायी बसोबास अनुमति (पीआर) त्यागेको तीन महिनापछि मात्र केही राजनीतिक तथा प्रशासनिक अधिकारका लागि योग्य हुने व्यवस्था गरेको उल्लेख गर्दै उनले यसले गम्भीर प्रश्न खडा गरेको बताइन् । उनले ‘के विदेशमा बसेका नेपाली स्वदेशमा बस्ने नेपालीभन्दा कम नेपाली हुन् ?’ भन्दै प्रश्न उठाएकी छन् ।

सांसद तामाङले विदेशमा रहेका नेपालीहरूले बाध्यता वा अवसरका कारण देश छाडे पनि आफ्नो पहिचान र देशप्रतिको माया कहिल्यै नछोडेको उल्लेख गरिन् ।

उनले लेखेकी छन्, “नेपाली राहदानी र नागरिकतालाई छातीमा टाँसेर, प्रवासको कठिन मरुभूमि होस् वा आधुनिक सहर, उहाँहरूले आफ्नो पसिनाले नेपालको अर्थतन्त्रलाई जीवनदान दिइरहनुभएको छ ।”

नेपालको संविधानको धारा १० ले कुनै पनि नेपाली नागरिकलाई नागरिकताको अधिकारबाट वञ्चित गर्न नहुने स्पष्ट व्यवस्था गरेको उल्लेख गर्दै उनले व्यवहारमा भने पीआर लिएकै आधारमा नागरिकहरूलाई शंकाको घेरामा राखिएको आरोप लगाइन् ।

“आफ्नै नागरिकलाई सेवा र अधिकारका लागि ‘पर्ख र हेर’ को नीति लादिनु न्यायोचित हुन सक्दैन,” उनको भनाइ छ ।

पीआर लिनु देश बिर्सिनु नभई जीवन र संघर्षलाई सहज बनाउने माध्यम मात्र भएको स्पष्ट पार्दै उनले शरीर विदेशमा भए पनि मन, माया र पहिचान सधैं नेपालमै रहेको बताइन् ।

रेमिट्यान्समार्फत देशको ढुकुटी भरिरहेका नागरिकलाई आफ्नै देशमा अधिकारका लागि समयसीमा तोक्नु अन्यायपूर्ण भएको उनको धारणा छ ।

सरकारको पछिल्लो प्रतिबद्धता पत्रमा पनि विदेशमा रहेका नेपालीहरूको कानुनी तथा व्यवहारिक समस्यालाई पर्याप्त रूपमा सम्बोधन नगरेको भन्दै सांसद तामाङले आश्चर्य व्यक्त गरिन् ।

“हामीले देशभित्रका लागि योजना बनायौं, तर देशलाई आर्थिक रूपमा ओत दिइरहेका आधारस्तम्भहरूलाई किन बिर्सियौं ?” उनले प्रश्न गरिन् ।

जनप्रतिनिधिको हैसियतमा राष्ट्रिय हितको रक्षा गर्नु आफ्नो प्राथमिक कर्तव्य भएको उल्लेख गर्दै उनले आफ्नै नागरिकलाई दोस्रो दर्जाको महसुस गराउने वा टाढा धकेल्ने कुनै पनि व्यवस्था स्वीकार्य नहुने बताइन् ।

उनले प्रवासी नेपालीहरूलाई शंकाको दृष्टिले होइन, सम्मानको दृष्टिले हेर्नुपर्नेमा जोड दिइन् ।

सांसद तामाङले अब कानुनलाई केवल अक्षरमा कडा नभई व्यवहारमा पनि न्यायपूर्ण बनाउनुपर्ने समय आएको बताउँदै नीतिहरू प्रत्येक नेपालीको आत्मसम्मानमा झल्किनुपर्ने धारणा राखिन् ।

“नेपाल यहाँ बस्नेको मात्र होइन, परदेशमा बसेर पनि मुटुभरि नेपाल बचाइराख्ने प्रत्येक नेपालीको हो,” उनले भनेकी छन् ।

प्रकाशित मिति: २ बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com