काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आफूविरुद्ध मागिएको स्पष्टीकरणबारे पछि प्रतिक्रिया दिने बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको अनुशासन समितिको बैठकले खड्कासँग सात दिनभित्र स्पष्टीकरण माग्ने निर्णय गरेको थियो। समितिले जारी गरेको विज्ञप्तिमा चैत ३० गते खड्काले अनधिकृत रूपमा प्रेस विज्ञप्ति जारी गरेको कार्य पार्टी विधानविपरीत देखिएको भन्दै नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ उपधारा ८ (घ) अनुसार स्पष्टीकरण सोध्ने निर्णय गरिएको उल्लेख गरिएको छ।

advertisement

निर्णयपछि प्रतिक्रिया लिन खोज्दा खड्काले आफू बैठकमा व्यस्त रहेको भन्दै पछि मात्र बोल्ने बताएका हुन्। ‘म अहिले सानो मिटिङमा छु, पछि कुरा गरौँला,’ उनले भने। स्पष्टीकरणको जवाफ दिने/नदिनेबारे सोधिएको प्रश्नमा पनि उनले बैठकपछि मात्र प्रतिक्रिया दिने बताएका छन्।

अनुशासन समितिमा केन्द्रीय सदस्य तारामान गुरुङ संयोजक रहेका छन् भने धना खतिवडा र सुवास पोखरेल सदस्य छन्।

यसअघि खड्काले चैत १४ गते आफूलाई कार्यवाहक सभापति दाबी गर्दै विज्ञप्ति जारी गरी पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको पक्राउप्रति आपत्ति जनाएका थिए। त्यसपछि चैत १७ गते उनले कार्यवाहक सभापतिकै हैसियतमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठकसमेत बोलाएका थिए।

उक्त गतिविधिलाई लिएर चैत १८ गते बसेको अनुशासन समितिको बैठकले पार्टीको आधिकारिक लेटरप्याड दुरुपयोग गरी अनधिकृत वक्तव्य जारी गर्नु गलत भएको भन्दै उनलाई चेतावनी दिएको थियो। साथै, भविष्यमा यस्ता गतिविधि दोहोरिए कडा कारबाही गर्ने निर्णय पनि गरिएको थियो।

तर सो चेतावनीलाई बेवास्ता गर्दै खड्काले पुनः कार्यवाहक सभापतिको हैसियत प्रयोग गरी पार्टीको लेटरप्याडमार्फत विज्ञप्ति जारी गरेपछि अनुशासन समितिले कडा कदमस्वरूप सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

प्रकाशित मिति: २ बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com