काठमाडौं । सरकारले सार्वजनिक पदमा रहेका उच्च राजनीतिक नेतृत्व र कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय गरेको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वि.सं. २०६२ यता सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति विवरण संकलन, प्रमाणीकरण र विस्तृत छानबिन गर्ने उद्देश्यसहित पाँच सदस्यीय सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन गरेको हो।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल का अनुसार आयोगको अध्यक्षमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारी रहेका छन्। सदस्यहरूमा पूर्वन्यायाधीश पुरुषोत्तम पराजुली र चण्डिराज ढकाल, पूर्व प्रहरी नायब महानिरीक्षक गणेश केसी तथा चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल रहेका छन्। आयोगले २०६२/६३ देखि २०८२/८३ सम्म पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नेछ।
बैठकले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन कार्यान्वयन प्रक्रिया पनि अघि बढाउने निर्णय गरेको छ। सो प्रतिवेदनका सिफारिसहरू कार्यान्वयनका लागि सुरक्षा संयन्त्रसँग सम्बन्धित योजना तयार पार्न उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्की को संयोजकत्वमा समिति गठन गरिएको छ। समितिमा सशस्त्र प्रहरी बलका पूर्व एआईजी सुबोध अधिकारी र नेपाल प्रहरीका पूर्व एआईजी टेकप्रसाद राई सदस्य छन्।
यसैगरी, सरकारले बेपत्ता पारिएका व्यक्तिहरूसम्बन्धी सत्य निरूपण तथा मेलमिलाप कोषका लागि स्विट्जरल्यान्ड सरकारबाट प्राप्त हुने एक मिलियन स्विस फ्र्याङ्क बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ।
मन्त्रिपरिषद्ले नेपाल र भारत सरकारबीच फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभामा पेश गर्ने निर्णयसमेत गरेको छ। उक्त सम्झौता २०८२ फागुन ५ गते हस्ताक्षर भएको थियो।
प्रशासनिक सुधारअन्तर्गत सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (तेस्रो संशोधन) नियमावली, २०८२ तथा संगठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षणसम्बन्धी राष्ट्रिय मापदण्ड, २०८२ लाई स्वीकृति दिएको छ।
यस्तै, आन्तरिक राजस्व विभागका महानिर्देशक, निर्देशक तथा ५२ वटा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखहरूलाई आफ्नो कार्यक्षेत्रअनुसार अन्तःशुल्क अधिकृतको जिम्मेवारी तोक्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
प्रकाशित मिति: २ बैशाख २०८३, बुधबार













प्रतिक्रिया