काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनमा जाने निर्णय आफ्नो पहलमा नभएको स्पष्ट पारेका छन्।
पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बिहीबार बसेको केन्द्रीय संयोजन समितिको बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले अघिल्ला अभिव्यक्ति सच्याएका हुन्। यसअघि जेनजी आन्दोलनका क्रममा आफूहरूले ठूलो प्रयास गरेर संविधान जोगाएको दाबी गर्दै आएका प्रचण्डले अहिले निर्वाचनमा जानुको कारण फरक रहेको बताएका छन्।
बैठकमा जेनजी आन्दोलनपछि अनुकूल वातावरण नहुँदै निर्वाचनमा किन सहभागी भएको भन्ने विषयमा नेतृत्वको आलोचना भएको थियो। फागुन २१ मा सम्पन्न निर्वाचनमा नेकपाले १७ सिट मात्र जितेको थियो, जसमा प्रमुख नेतामध्ये प्रचण्ड र वर्षमान पुन मात्रै निर्वाचित भएका थिए।
प्रचण्डको फेरियो बोलीः संसद् विघटन र निर्वाचन हाम्रो एजेन्डा थिएनप्रचण्डले आफूहरू निर्वाचनमा जान इच्छुक नभएको तर रामचन्द्र पौडेलको प्रस्तावपछि बाध्य भएर समर्थन गरेको बताएका छन्। नेता देवेन्द्र पौडेलका अनुसार राष्ट्रपतिले राजनीतिक निकासका लागि संसद् विघटन गरी निर्वाचनमा जान सुझाव दिएपछि त्यसलाई स्वीकार गरिएको हो।
बैठकमा प्रचण्डले पार्टी रूपान्तरण र बृहत् वामपन्थी एकताको आवश्यकता औँल्याउँदै पहिले पार्टीलाई सुदृढ बनाउनु पर्नेमा जोड दिएका छन्। त्यसपछि मात्र एकता र ध्रुवीकरणको प्रक्रिया अघि बढाउन उपयुक्त हुने उनको धारणा थियो।
त्यस्तै, उनले १२ बुँदे सहमतिका पक्षधरबीच सहकार्य र मोर्चाबन्दी आवश्यक रहेको बताएका थिए। सहसंयोजक माधवकुमार नेपाल ले पनि प्रचण्डको विचारमा समर्थन जनाउँदै वामपन्थी एकताको विषयमा हतारमा निर्णय गर्न नहुने बताएका छन्।
संयोजक र सहसंयोजकको धारणा प्रस्तुत भएपछि बैठक स्थगित गरिएको छ। नेता देवेन्द्र पौडेलका अनुसार अबको बैठक शनिबार बिहान ११ बजे बस्नेछ, जहाँ नेताहरूको कार्यविभाजन र आगामी कार्यक्रमबारे निर्णय गरिनेछ।
प्रकाशित मिति: ३ बैशाख २०८३, बिहिबार












प्रतिक्रिया