काठमाडौ । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई ज्यानसम्बन्धी मुद्दामा महेन्द्रनगरबाट नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई पक्राउ गरिएको हो।
गत ९ वैशाखमा बेलडाँडी गाउँपालिका–३ कमरीका भैँसीपालक किसान हरकिशन राना बेलौरी नगरपालिका–१० शिवनगरस्थित निर्मल आर्यघाट नजिक मोटरसाइकलसहित जलेको अवस्थामा मृत फेला परेका थिए। सो घटनापछि रानाकी श्रीमतीले उपाध्यक्ष नाथविरुद्ध किटानी जाहेरी दिएकी थिइन्।
स्थानीयका अनुसार भैँसीपालक किसान समूहका लागि प्रदेश सरकारले उपलब्ध गराएको अनुदानका विषयमा राना र नाथबीच विवाद रहेको थियो।
यस घटनाका दोषीमाथि कारबाहीको माग गर्दै केही दिनअघि प्रतिनिधिसभामा कञ्चनपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद दीपक बोहराले पनि आवाज उठाएका थिए।
प्रकाशित मिति: ४ बैशाख २०८३, शुक्रबार













प्रतिक्रिया