काठमाडौं। सरकारी अस्पतालको ओपीडी आइतबार पनि बन्द रहने भएको छ ।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा दुई दिन बिदा दिँदा बिरामी मर्कामा पर्ने भन्दै आइतबार ओपीडी खुला गर्न आग्रह गरेको थियो ।
मन्त्रालयको यस्तो निर्णयसँगै चिकित्सक संघले आइतबार ओपीडी खोल्न नसक्ने बताएपछि सरकारले पुनः सरकारी अस्पतालमा आइतबार बिदा कायम गर्ने निर्णय गरेको हो ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अस्पतालहरूमा बिरामीको निरन्तर हेरचाह सुनिश्चित गर्न २४ सै घण्टा आकस्मिक तथा अन्तरंग सेवा यथावत सञ्चालन रहने जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, “नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार मिति २०८२ चैत्र २२ गते राजपत्रमा प्रकाशित सूचना बमोजिम शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागु भएको सन्दर्भमा स्वास्थ्यकर्मीहरूको मनोबल र हितलाई ध्यानमा राख्दै बिरामीको निरन्तर हेरचाह सुनिश्चित गर्न, सरकारको ‘हप्तामा दुई दिन सार्वजनिक बिदा’ को नीति अनुरूप आइतबारका पूर्व निर्धारित शल्यक्रिया (ओटी) लगायतलाई बिरामीको सहजता हेरी रिसेड्युल गरी अन्तरंग र आकस्मिक सेवाहरू सधैँझैँ २४ सै घण्टा सुचारु रहने जानकारी गराइन्छ ।”
आइतबारका लागि पूर्वनिर्धारित शल्यक्रिया (ओटी) लगायतका सेवा बिरामीको सहजतालाई ध्यानमा राखी पुनः तालिका गरिने मन्त्रालयले जनाएको छ ।
सेवा उपलब्ध नभएका अवस्थामा बिरामीलाई नजिकको उपयुक्त अस्पतालमा सहज रूपमा रेफर गर्ने व्यवस्था मिलाइने र एम्बुलेन्स सेवा सधैँ तयारी अवस्थामा राखिने पनि मन्त्रालयको भनाइ छ ।
प्रकाशित मिति: ४ बैशाख २०८३, शुक्रबार













प्रतिक्रिया