काठमाडाैं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अन्तर्गत शिरभेग क्षेत्रमा अवस्थित भैरवकुण्ड धार्मिक आस्था, सांस्कृतिक विश्वास र प्राकृतिक सौन्दर्यको अनुपम संगमका रूपमा परिचित छ। हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र बनेको यो कुण्डलाई विशेषगरी शेर्पा समुदायले ‘आमा छयूमेन’का रूपमा पूजा गर्ने परम्परा छ।

समुन्द्री सतहबाट करिब ४,१२४ मिटर उचाइमा अवस्थित भैरवकुण्ड, ६,५६७ मिटर उचाइको फुर्वी घ्याचु भञ्ज्याङ को फेदीमा फैलिएको छ। करिब ८४,१९३ वर्गमिटर क्षेत्रफलमा फैलिएको यो विशाल तालले हिमाली शान्तता र अलौकिक अनुभूति प्रदान गर्छ।

advertisement

भैरवकुण्ड आसपासको अर्को आकर्षण हो नेपालकै दोस्रो अग्लो भैरवकुण्ड छहरा, जसको उचाइ करिब १९८ मिटर रहेको छ। यससँगै देखिने जुगल हिमशृङ्खला ले दृश्यलाई अझ मोहक बनाउँछ। यहाँको प्राकृतिक सौन्दर्यले जो–कोहीलाई मन्त्रमुग्ध बनाउने गर्दछ।

धार्मिक दृष्टिले पनि भैरवकुण्ड अत्यन्त महत्वपूर्ण मानिन्छ। हिन्दु विश्वासअनुसार यहाँ भगवान् शिव र पार्वतीको वासस्थान रहेको किंवदन्ती छ। महादेवको उग्र रूप ‘भैरव’सँग जोडिएको यो स्थललाई शिवको क्रिडास्थलका रूपमा लिइन्छ। प्रत्येक वर्ष जनैपूर्णिमा का अवसरमा यहाँ भव्य मेला लाग्ने गर्दछ, जहाँ हजारौँ श्रद्धालुहरूको भीड लाग्छ। “जे माग्यो, त्यही पूरा हुन्छ” भन्ने जनविश्वासले तीर्थालुहरूलाई यहाँ तान्ने गरेको छ।

भैरवकुण्ड पुग्न भने सहज छैन। अरनिको राजमार्ग अन्तर्गत लार्चाबाट सुरु हुने कठिन उकालो र भीरयुक्त बाटो हुँदै करिब दुई दिनको पैदल यात्रापछि मात्र तालसम्म पुग्न सकिन्छ। बाटोमा पर्ने डाक्लाङ, काक्लाङ, लिस्तिमाई (उग्रचण्डी भगवती), छगाम, बगाम र चोकर भीर जस्ता स्थानहरूले यात्रालाई झनै रोमाञ्चक बनाउँछन्।

यात्राका क्रममा स्थानीय घर तथा होम–स्टेमा बास बस्ने र अर्गानिक खानाको स्वाद लिने अवसर पनि पाइन्छ। साथै, शेर्पा समुदायको मौलिक संस्कृति, भेषभूषा र जीवनशैली नजिकबाट अवलोकन गर्न सकिन्छ।

भैरवकुण्ड धार्मिक पर्यटक मात्र होइन, अन्तर्राष्ट्रिय पर्यटकहरूका लागि पनि आकर्षणको केन्द्र बनेको छ। युरोप, अमेरिका, जापानलगायत देशका पर्यटकहरू यहाँको दृश्यावलोकनका लागि एक हप्तादेखि महिना दिनसम्म बस्ने गरेका छन्। धेरैजसो पर्यटकहरूले टेन्ट र आवश्यक सामग्री आफैं बोकेर ल्याउने गरेका छन्।

कठिन यात्राको बाबजुद भैरवकुण्ड पुग्दा पाइने प्राकृतिक शान्ति, आध्यात्मिक अनुभूति र अनुपम दृश्यले सबै दुःख बिर्साइदिन्छ। यही कारणले यो स्थल नेपालका उत्कृष्ट धार्मिक तथा साहसिक गन्तव्यहरूमध्ये एक मानिन्छ।

प्रकाशित मिति: ५ बैशाख २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com