सुर्खेत । कर्णाली प्रदेशको प्रदेश अस्पताल सुर्खेतमा उपचाररत एक गर्भवती महिलाको मृत्यु भएपछि अस्पतालमाथि गम्भीर लापरवाहीको आरोप लागेको छ। मृतकका परिवारजनले घटनालाई शंकास्पद र लापरवाहीजन्य भन्दै सत्यतथ्य बाहिर ल्याउन स्वतन्त्र छानबिनको माग गरेका छन्।
कालिकोटको नरहरिनाथ गाउँपालिका–३ की २७ वर्षीया भावना बिष्टको उपचारका क्रममा मृत्यु भएको हो। परिवारका अनुसार अस्पतालले बिरामीको वास्तविक अवस्था, उपचार प्रक्रिया र चिकित्सकीय निर्णयबारे स्पष्ट जानकारी नदिएको, समयमै आवश्यक सेवा नदिएको तथा समन्वय अभावका कारण ज्यान गएको जनाएका छन्।
पीडित परिवारले घटनाप्रति गम्भीर आपत्ति जनाउँदै घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गरी सत्यतथ्य सार्वजनिक गरिनुपर्ने, उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी वा सम्बन्धित संस्थामाथि कानुनी कारबाही गरिनुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति र मृतकका बालबालिकाको सुरक्षित भविष्यको ग्यारेन्टी सुनिश्चित गरिनुपर्ने, उपचार प्रक्रिया, मेडिकल रिपोर्ट र निर्णयहरूसम्बन्धी सम्पूर्ण विवरण पारदर्शी रूपमा उपलब्ध गराइनुपर्ने, छानबिन प्रक्रिया अघि बढाई न्यायिक प्रक्रिया सुरु गरिनुपर्ने र भविष्यमा यस्ता घटना नदोहरियोस् भनेर स्वास्थ्य सेवा प्रणालीमा तत्काल सुधार गरिनुपर्ने माग अघि सारेका छन्।
यता, अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा भने बिरामीलाई अत्यन्त गम्भीर अवस्थामा भर्ना गरिएको उल्लेख गर्दै ‘Severe pre-eclampsia with impending eclampsia’ जस्तो जटिल अवस्था देखिएपछि तत्काल आपतकालीन शल्यक्रिया (Emergency LSCS) गरिएको जनाएको छ। शल्यक्रियापछि पनि बिरामीको अवस्था जटिल बन्दै गएको, किड्नीसम्बन्धी समस्या, अक्सिजनको मात्रा घट्नु लगायतका समस्या देखिएको र थप उपचारका लागि काठमाडौं रिफर गरिएको अस्पतालको भनाइ छ। आईसीयूमा भेन्टिलेटरमार्फत उपचार गर्दा समेत सुधार नभएको अस्पतालले जनाएको छ।
अस्पतालको दाबी र परिवारको भनाइबीच गम्भीर मतभेद देखिएको यो घटनाले प्रदेशस्तरको स्वास्थ्य सेवामा पारदर्शिता, जवाफदेहिता र गुणस्तरप्रति गम्भीर प्रश्न खडा गरेको छ। सम्बन्धित निकायले निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने मृतकको परिवारले माग गरिरहेका छन्।
प्रदेश अस्पताल सुर्खेतकाे प्रेस विज्ञप्ति

प्रकाशित मिति: ५ बैशाख २०८३, शनिबार













प्रतिक्रिया