एजेन्सी । उत्तर कोरियाले आइतबार पुनः ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ। बढ्दो क्षेत्रीय तनाव र संयुक्त राज्य अमेरिका तथा दक्षिण कोरिया सँग सम्भावित वार्ताको चर्चाबीच उक्त परीक्षण गरिएको हो।
दक्षिण कोरियाली सेनाका अनुसार मिसाइलहरू उत्तर कोरियाको पूर्वी तटस्थित सिन्पो क्षेत्रबाट बिहान करिब ६ः१० बजे प्रक्षेपण गरिएको थियो। ती मिसाइलहरूले करिब १४० किलोमिटर दूरी तय गरेका थिए।
यस वर्षको यो सातौँ तथा चालु महिनाको चौथो मिसाइल परीक्षण हो। विश्लेषकहरूका अनुसार उत्तर कोरियाले अन्तर्राष्ट्रिय दबाबबीच आफ्नो सैन्य क्षमता प्रदर्शन गर्दै रणनीतिक सन्देश दिन खोजेको देखिन्छ। केही पूर्व सुरक्षा अधिकारीहरूले यसलाई अमेरिका र दक्षिण कोरियासँग सम्भावित वार्ताअघि दबाब सिर्जना गर्ने कदमका रूपमा व्याख्या गरेका छन्।
यसैबीच, इरान सँग सम्बन्धित पछिल्लो युद्ध परिस्थितिले पनि उत्तर कोरियाको सुरक्षा रणनीतिमा प्रभाव पारेको विश्लेषण गरिएको छ। उक्त परिस्थितिले प्योङयाङलाई आफ्नो परमाणु कार्यक्रम थप सुदृढ बनाउन प्रेरित गरेको हुनसक्ने अनुमान छ।
डोनाल्ड ट्रम्प र ली जे-म्युङ ले उत्तर कोरियासँग वार्ताको इच्छा व्यक्त गरे पनि हालसम्म कुनै औपचारिक वार्ता तय हुन सकेको छैन।
उत्तर कोरियाका नेता किम जोङ उन ले हालै आफ्नो देशको परमाणु शक्ति ‘अपरिवर्तनीय’ रहेको दाबी गर्दै आणविक प्रतिरक्षा क्षमताको थप विस्तार आवश्यक रहेको बताएका छन्।
यता जापान र दक्षिण कोरियाले संयुक्त राष्ट्रसंघीय प्रतिबन्धको उल्लङ्घन भएको भन्दै उक्त परीक्षणको कडा विरोध जनाएका छन्। उनीहरूले उत्तर कोरियालाई उक्साहटपूर्ण गतिविधि रोक्न आग्रह गरेका छन्।
प्रकाशित मिति: ६ बैशाख २०८३, आइतबार













प्रतिक्रिया