काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संघीयताको मर्मअनुसार शासन सञ्चालन हुन नसकेको भन्दै सबै विषय प्रधानमन्त्रीसँगै जोडिने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन्।
आइतबार ललितपुरमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै उनले विकास–निर्माणका कामलाई प्रभावकारी बनाउन कानुनी संरचनामा व्यापक सुधार आवश्यक रहेको औंल्याए। विद्यमान कानुनकै कारण विभिन्न मन्त्रालयबीच समन्वय अभाव देखिएको र काममा अवरोध सिर्जना भइरहेको उनको भनाइ थियो।
उनले उदाहरण दिँदै भौतिक पूर्वाधार मन्त्रालयले सडक निर्माण अघि बढाउन खोज्दा वन मन्त्रालयले रोक्ने, खानेपानीका संरचना बनाउन खोज्दा पनि वन क्षेत्रको नाममा अवरोध आउने जस्ता विरोधाभासी अवस्था विद्यमान रहेको बताए।
अध्यक्ष राईले यस्तो परिस्थितिले विकासका कामलाई ढिला बनाएको उल्लेख गर्दै कानुनमा समयानुकूल परिवर्तन नगरेसम्म प्रभावकारी काम गर्न नसकिने धारणा राखे। साथै, संघीयताको मर्मअनुसार अधिकार र जिम्मेवारीको स्पष्ट बाँडफाँट हुनुपर्नेमा उनले जोड दिए।
उनले सबै संस्कृति र समुदायप्रति सम्मान आवश्यक रहेको उल्लेख गर्दै अल्पसंख्यक समुदायको पहिचान र अधिकार संरक्षणमा पनि ध्यान दिनुपर्ने बताए।
प्रकाशित मिति: ६ बैशाख २०८३, आइतबार













प्रतिक्रिया