काठमाडौं । नेकपा एमालेका सांसद ऐन महरले विद्यार्थी आन्दोलनलाई कमजोर बनाउने वा प्रतिबन्ध लगाउने सरकारका कुनै पनि प्रयास सफल हुन नदिने चेतावनी दिएका छन्।
आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले विद्यार्थी आन्दोलनलाई लोकतन्त्रको ‘पहरेदार’को रूपमा व्याख्या गर्दै यसको अस्तित्वमाथि प्रहार गर्ने कदम अस्वीकार्य हुने बताए।
सांसद महरले विद्यार्थी संगठन खारेज गर्ने प्रस्तावलाई ‘बेतुका’ भन्दै कडा आलोचना गरे। साथै, वर्तमान सरकारमाथि राष्ट्रियता र स्वाधीनताप्रति संवेदनशील नदेखिएको आरोप पनि लगाए।
शासकीय सुधारसम्बन्धी कार्यसूचीको बुँदा नम्बर ८६ मा विद्यार्थी संगठन खारेज गर्ने आशय लुकेको उल्लेख गर्दै उनले यस्तो निर्णयविरुद्ध विद्यार्थी नेतृत्व किन मौन छ भनेर प्रश्न उठाए।
उनले आवश्यक परे आन्दोलनमा प्रत्यक्ष सहभागी हुने प्रतिबद्धता जनाउँदै भने,’विद्यार्थीहरूले सडक आन्दोलन सशक्त बनाउनुहोस्, हामी सबै मोर्चाबाट साथ दिन्छौँ। आवश्यकता परे सांसद पदको चिन्ह त्यागेर पनि आन्दोलनमा सहभागी हुन तयार छु।’
गणतन्त्र स्थापनामा विद्यार्थीहरूको योगदान स्मरण गराउँदै उनले अहिलेको व्यवस्थामा विद्यार्थी आन्दोलनलाई कमजोर बनाउने प्रयास स्वीकार्य नहुने बताए। साथै, संविधानको धारा ३१ अनुसार शिक्षा सम्बन्धी मौलिक हक कार्यान्वयनलाई आन्दोलनको प्रमुख एजेन्डा बनाउन उनले विद्यार्थीलाई आग्रह गरे।
प्रकाशित मिति: ६ बैशाख २०८३, आइतबार













प्रतिक्रिया