काठमाडौं। अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर तीन दिने औपचारिक भ्रमणका लागि सोमबार बिहान काठमाडौं आइपुगेका छन् ।
बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि यो पहिलो उच्चस्तरीय अमेरिकी भ्रमण हो ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनको आज परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटघाट हुने वा नहुने अझै टुङ्गो लागिसकेको छैन ।
दक्षिण तथा मध्य एसिया मामिला हेर्ने जिम्मेवारी पाएका कपुर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निकट मानिन्छन् ।
ट्रम्पले तत्कालीन सहायक विदेशमन्त्री डोनाल्ड लुलाई हटाएर गत वर्ष फागुनमा उनलाई नियुक्त गरेका थिए ।
कपुरको जन्म भारतमा भएको हो भने उनका बुबा भारतीय र आमा अमेरिकी हुन् । उनको नियुक्तिपछि भारतीय मूलका व्यक्तिका रूपमा निकै चर्चा भएको थियो ।
कपुर अमेरिकी राष्ट्रिय सुरक्षा मामिला विभागका पूर्वप्राध्यापक हुन् ।
ट्रम्पको अघिल्लो कार्यकालको अन्तिम वर्ष सन् २०२०–२१ मा उनी विदेश विभागको नीति योजना टोलीमा दक्षिण एसियाली मामिला हेर्ने जिम्मेवारीमा काम गरेका थिए ।
अमेरिकी नौसेना पोस्ट ग्राजुएट स्कुलका पूर्वप्राध्यापक समेत रहेका उनलाई पाकिस्तानका कट्टर आलोचकका रूपमा चिनिन्थ्यो ।
तर पछिल्लो समय इरान र अमेरिकाबीच वार्ता गराउन पाकिस्तानले गरेको मध्यस्थतामा उनको भूमिका रहेको चर्चा छ ।
उनी दक्षिण एसियाली सुरक्षा, आणविक रणनीति र अन्तर्राष्ट्रिय सम्बन्धका विशेषज्ञ मानिन्छन् ।
विशेषगरी भारत–पाकिस्तान सम्बन्ध, आतंकवाद र क्षेत्रीय सुरक्षाका विषयमा उनले विभिन्न अनुसन्धान गरेका छन् ।
बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएपछि कूटनीतिक क्षेत्रमा चालिएका कदमहरू चर्चामा छन् ।
दक्षिण तथा मध्य एसियामा बढ्दो भूराजनीतिक प्रतिस्पर्धाका बीच नेपालको परराष्ट्र नीति पनि ध्यानाकर्षणको विषय बनेको छ ।
यस्तो अवस्थामा कपुरको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
यो भ्रमणका क्रममा द्विपक्षीय सहयोग, क्षेत्रीय स्थिरता, सुरक्षा सहकार्य र सम्भावित अमेरिकी लगानीका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
परराष्ट्र मन्त्रालयले भने थप भेटघाट कार्यक्रमबारे अझै विस्तृत जानकारी दिएको छैन ।
कपुरको यो भ्रमणलाई नयाँ सरकारसँग अमेरिकाले चासो देखाएको सङ्केतका रूपमा विश्लेषण गर्न थालिएको छ ।
प्रकाशित मिति: ७ बैशाख २०८३, सोमबार












प्रतिक्रिया