काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष दुजाङ शेर्पाले मातृ पार्टी नेपाली कांग्रेस सँग संगठनको विधान तत्काल उपलब्ध गराउन माग गरेका छन्। स्थापना दिवसका अवसरमा सार्वजनिक गरिएको भिडियो सन्देशमार्फत उनले यस्तो आग्रह गरेका हुन्।

अध्यक्ष शेर्पाका अनुसार विधान अभावकै कारण नेविसंघको १२औँ महाधिवेशन अघि बढ्न नसकेको छ। उनले शीघ्र निकास दिन आग्रह गर्दै, विधान उपलब्ध गराउन नसकिए वर्तमान केन्द्रीय कार्यसमिति नै विघटन गरी नयाँ मार्ग प्रशस्त गर्नुपर्ने बताए।

advertisement

दुजाङ शेर्पाले भने, ‘विधान नहुँदा हामी महाधिवेशनको लक्ष्यमा पुग्न सकेका छैनौं। त्यसैले छिटो निकास दिनका लागि पार्टीसँग आग्रह गर्दछु। हामीले अघि सारेका एजेन्डामाथि छलफल गरी विधान प्रदान गरियोस्, अन्यथा वर्तमान कार्यसमितिलाई भंग गरेर नयाँ बाटो खोलियोस्।’

शेर्पाले नेविसंघको सिनेट बैठकबाट प्रस्तुत गरिएका प्रस्तावहरूमाथि पार्टी नेतृत्वले गम्भीर छलफल गरी पारित गर्नुपर्ने आवश्यकता औंल्याए। एक महिना बितिसक्दा पनि ती विषयमा निर्णय नभएकोप्रति उनले असन्तुष्टि जनाए।

यसैबीच, विद्यार्थी संगठनहरू खारेज गर्ने सरकारी निर्णयप्रति पनि उनले चिन्ता व्यक्त गरे। उक्त निर्णयलाई उनले अलोकतान्त्रिक र असंवैधानिक भन्दै, यस विषयमा नेपाली कांग्रेस ले हालसम्म आधिकारिक धारणा सार्वजनिक नगरेकोमा दुःख व्यक्त गरे।

‘विद्यार्थी आन्दोलनकै बलमा आज पार्टी नेतृत्व स्थापित भएको हो,’ उनले भने, ‘त्यसैले विद्यार्थी आन्दोलनमाथि भइरहेको प्रहारबारे पार्टीले तत्काल आफ्नो धारणा सार्वजनिक गर्दै संसद्मा सशक्त रूपमा आवाज उठाउन आवश्यक छ।’

प्रकाशित मिति: ७ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com