काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीलाई कमजोर पार्ने प्रयास गर्नेहरूसँग अब कुनै पनि प्रकारको सहमति नहुने स्पष्ट घोषणा गरेका छन्। उनले विशेषगरी पार्टीका महामन्त्री धवलशमशेर राणा लगायत केही नेतातर्फ संकेत गर्दै यस्तो चेतावनी दिएका हुन्।

सोमबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले पार्टीभित्रै बसेर संगठनलाई क्षति पुर्‍याउने गतिविधि अस्वीकार्य रहेको बताए। आफ्नो जिम्मेवारीअनुसार जिल्लामा वडा समिति गठन गर्न नसक्ने, निर्वाचनमा पार्टीका उम्मेदवारलाई सहयोग नगर्ने तथा पार्टीलाई राष्ट्रिय शक्तिका रूपमा स्थापित हुन नदिन खोज्ने प्रवृत्तिका नेताहरूको अब कुनै कुरा नसुनिने उनले प्रष्ट पारे।

advertisement

महाधिवेशन स्थगित गरी कार्यकाल लम्ब्याउने पक्षमा आफू नरहेको उल्लेख गर्दै अध्यक्ष लिङ्देनले निर्धारित समयमै वैधानिक र व्यवस्थित ढंगले महाधिवेशन सम्पन्न गरिने बताए। उनका अनुसार पार्टीभित्र देखिएका समस्या समाधानको एक मात्र उपाय महाधिवेशन नै हो।

त्यसैगरी उनले वर्तमान अवस्थामा संसदमा प्रतिपक्ष कमजोर देखिएको उल्लेख गर्दै सरकारका गलत गतिविधिविरुद्ध सडक र सदन दुवैबाट सशक्त रूपमा आवाज उठाइने बताए। राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले चुनावी प्रतिबद्धताजस्तै व्यवहारमा पनि परिणाममुखी काम गर्नुपर्नेमा उनले जोड दिए।

गृहमन्त्रीसँग सम्बन्धित पछिल्ला चर्चित विषयबारे सरकारले तत्काल स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले सम्बन्धित पक्षले आफ्नो अडान प्रष्ट पार्नुपर्ने बताए।

यसअघि देखिएका विकृति र बेथिति सुधार गर्ने दिशामा वर्तमान सरकारले केही पहल थालेको उल्लेख गर्दै अध्यक्ष लिङ्देनले सकारात्मक कामको स्वागत गर्न आफूहरू तयार रहेको पनि बताए।

प्रकाशित मिति: ७ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com