काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले गृहमन्त्री सुधन गुरुङले आफूमाथि लागेका गम्भीर आरोपहरूको सन्दर्भमा सामाजिक सञ्जालमार्फत दिएको स्पष्टीकरणप्रति आपत्ति जनाउँदै तत्काल राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने माग गरेकी छन् ।

सांसद ओलीले सोमबार सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्री जस्तो संवेदनशील र जिम्मेवार पदमा रहेको व्यक्तिले गम्भीर आरोपको जवाफ फेसबुकमा लेखेर दिनु विधिसम्मत प्रक्रियालाई हल्का बनाउने र संस्थागत मर्यादा तथा विश्वसनीयतामा आघात पुर्‍याउने कार्य भएको बताएकी छन् ।

advertisement

उनले लेखेकी छन्, “यदि सामाजिक सञ्जालमा लेखेकै भरमा निर्दोष भइने अभ्यासलाई स्वीकार गर्ने हो भने भोलि सम्पत्ति शुद्धीकरण वा अन्य फौजदारी अभियोग लागेका जोसुकै व्यक्तिले पनि फेसबुकमै लेखेर आफू निर्दोष भएको दाबी गर्न सक्छन् ।”

सांसद ओलीले कोही पनि आफैँ आफ्नो मुद्दामा न्यायाधीश बन्न नसक्ने कानुनी सिद्धान्तको स्मरण गराउँदै पारदर्शिता, उत्तरदायित्व र जनविश्वास कायम राख्न गृहमन्त्री गुरुङले तत्काल पदबाट अलग भई स्वतन्त्र छानबिनको सामना गर्नुपर्नेमा जोड दिएकी छन् । निर्दोष प्रमाणित भएपछि मात्र पुनः जिम्मेवारी सम्हाल्न सकिने उनको धारणा छ ।

गृहमन्त्री गुरुङले ‘पार्टीको निर्णय पूर्ण रूपमा पालना गर्ने’ भनी गरेको अभिव्यक्तिलाई लक्षित गर्दै ओलीले भनेकी छन्, “गृहमन्त्री पार्टीको निर्णयले होइन, देशको आधिकारिक राज्य संयन्त्रको निर्णयबाट चल्नुपर्छ ।

आधिकारिक राज्य संयन्त्र आफैँ हाँक्ने र अनुसन्धानमा सहयोग गर्छु भन्नु विरोधाभासपूर्ण छ ।”

सांसद खुश्बु ओलीले गृहमन्त्रीले स्वतन्त्र छानबिनमा पूर्ण सहयोग पुर्‍याउनुपर्ने र जनताको विश्वास जित्नका लागि पदबाट अलग हुनुपर्ने माग गरेकी छन् ।

उनको यो भनाइले गृहमन्त्री सुधन गुरुङमाथि लागेका आरोपहरूको विषयलाई थप चर्चामा ल्याएको छ ।

यो प्रकरणमा अझै औपचारिक छानबिन प्रक्रिया सुरु भएको छैन भने गृहमन्त्री गुरुङले भने आफू निर्दोष रहेको दाबी गर्दै पार्टीको निर्णयअनुसार अघि बढ्ने बताएका छन् ।

प्रकाशित मिति: ७ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com