काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत दिएको स्पष्टीकरणप्रति असन्तुष्टि जनाउँदै पदबाट अलग हुन माग गरेकी छन्।
सोमबार फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले गृहमन्त्रीजस्तो संवेदनशील जिम्मेवारीमा रहेको व्यक्तिले गम्भीर आरोपहरूको जवाफ सामाजिक सञ्जालमार्फत दिनु उचित नहुने बताइन्। यस्तो अभ्यासले विधिसम्मत प्रक्रिया कमजोर बनाउनुका साथै संस्थागत विश्वसनीयतामाथि असर पर्ने उनको भनाइ छ।
‘यदि सामाजिक सञ्जालमै लेखेको आधारमा निर्दोष ठहरिने हो भने, भोलि कुनै पनि व्यक्ति फौजदारी अभियोगमा परेपछि फेसबुकमै लेखेर आफू निर्दोष भएको दाबी गर्न सक्ने अवस्था आउँछ,’ भन्दै उनले यो विषय व्यक्तिगत अभिव्यक्ति मात्र नभई संस्थागत मर्यादासँग जोडिएको मुद्दा भएको उल्लेख गरिन्।
कानुनी सिद्धान्तअनुसार आफ्नो मुद्दामा आफैँ न्यायाधीश बन्न नमिल्ने स्मरण गराउँदै सांसद ओलीले पारदर्शिता र जनविश्वास कायम राख्न गृहमन्त्रीले पदबाट अलग भई स्वतन्त्र छानबिनमा सहयोग गर्नुपर्ने धारणा राखिन्। निर्दोष प्रमाणित भएपछि मात्र पुनः जिम्मेवारी सम्हाल्नु उपयुक्त हुने उनको तर्क छ।
गृहमन्त्रीले ‘पार्टीको निर्णय मान्ने’ भनाइप्रति टिप्पणी गर्दै उनले सरकार सञ्चालन पार्टीको निर्णयभन्दा राज्यका औपचारिक संयन्त्रबाट हुनुपर्ने स्पष्ट पारिन्। ‘राज्य संयन्त्र आफैँ नेतृत्व गर्ने व्यक्तिले अनुसन्धानमा सहयोग गर्ने कुरा गर्नु नै विरोधाभासपूर्ण हुन्छ,’ उनले भनेकी छन्।
प्रकाशित मिति: ७ बैशाख २०८३, सोमबार













प्रतिक्रिया