काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र व्यापक एकता कायम गर्दै सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सोमबार हेटौँडामा आयोजित बागमती प्रदेशको चुनावी समीक्षा कार्यक्रममा बोल्दै उनले पार्टीभित्रका नेताहरूसँग संवाद प्रक्रिया सुरु गरिसकेको जानकारी दिए। उनले पार्टीको सुदृढीकरणका लागि आन्तरिक एकता मात्र होइन, बाहिर रहेका समर्थक र शुभेच्छुकलाई समेत जोड्नुपर्ने आवश्यकता औँल्याए।
‘हामीबीचको एकताले मात्रै पुग्दैन, वर्षौँदेखि कांग्रेसलाई समर्थन गर्दै आएका ठूलो समुदाय पनि छन्,’ गगन थापाले भने, ‘यसपटक किन उनीहरूले साथ दिएनन् भन्ने खोजी गर्नु जरुरी छ।’
पार्टी सदस्य भएर पनि कांग्रेसलाई मतदान नगर्ने प्रवृत्ति स्वीकार्य नहुने बताउँदै उनले त्यस्ता व्यक्तिहरूले पार्टी छाड्नु उपयुक्त हुने धारणा राखे। साथै, संगठनात्मक संरचनामा व्यापक सुधार आवश्यक रहेको उनले उल्लेख गरे।
पार्टीभित्रको विवाद अन्त्य भएको घोषणा गर्दै उनले अब पुराना बहसलाई निरन्तरता नदिने स्पष्ट पारे। ‘विशेष महाधिवेशन ठीक थियो वा थिएन भन्ने बहस यहीँ अन्त्य गर्नुपर्छ,’ उनले भने, ‘अब पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने समय आएको छ।’
प्रकाशित मिति: ७ बैशाख २०८३, सोमबार













प्रतिक्रिया