काठमाडौं । गत भदौमा भएको जेन–जी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई रिहा नगरे प्रधानमन्त्री बालेन्द्र शाहमाथि गोली प्रहार गर्ने धम्की दिने एक युवक पक्राउ परेका छन्।

यसअघि, उक्त प्रकरणमा गत चैत १४ गते पक्राउ परेका पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक भने रिहा भइसकेका छन्।

advertisement

सामाजिक सञ्जालमार्फत् धम्की दिएको आरोपमा बझाङको थलरा गाउँपालिका–४, मयलका २० वर्षीय साजन विष्ट (सानुभाइ) पक्राउ परेका हुन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिनामंगलबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार साजनले ‘सानुभाइ’ नामको फेसबुक एकाउन्ट प्रयोग गर्दै ओली, लेखक तथा सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जा मन्त्री दीपक खड्कालाई रिहा गर्न सरकारलाई दबाब दिएका थिए। उनले माग पूरा नभए प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङमाथि गोली चलाउन आफ्नो समूह बाध्य हुने चेतावनी दिएका थिए।

यस्तै, उनले घटनाका लागि एके–४७ राइफल काठमाडौं भित्र्याइसकेको दाबीसमेत गरेका थिए। पक्राउपछि उनलाई साइबर कसुरसम्बन्धी अनुसन्धानका लागि साइबर ब्यूरो पठाइएको छ।

प्रहरीका अनुसार साजन पछिल्लो पाँच वर्षदेखि भारतको बैंगलोरमा बस्दै आएका थिए र त्यहाँ फेन्सी स्टोरमा काम गर्थे। साथै, उनी भारतमै पनि विभिन्न श्रृंखलाबद्ध अपराधमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रकाशित मिति: ७ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com