काठमाडौं । गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारविरुद्ध आफूले चालिरहेको कारबाहीका कारण नै आफूमाथि नियोजित आक्रमण भइरहेको संकेत गरेका छन्। सोमबार राति सामाजिक सञ्जालमार्फत उनले यस्तो प्रतिक्रिया दिँदै भ्रष्टाचारविरुद्धको अभियान कुनै हालतमा नरोकिने चेतावनी दिएका छन्।
आफ्नाविरुद्ध मिडिया ट्रायल र योजनाबद्ध रूपमा हल्ला फैलाइएको दाबी गर्दै उनले लेखेका छन्, “कारबाही रोकिने छैन, म डगमगिने छैन।” साथै उनले थपेका छन्, “दिनको ५० करोड रुपैयाँ भ्रष्टाचार गर्नेहरूविरुद्ध पनि यति धेरै सक्रियता देखिएको थिएन।”
बिचौलियासँग साँठगाँठ गरेको आरोप लाग्दै राजीनामा माग भइरहेका बेला गृहमन्त्री गुरुङको यो प्रतिक्रिया सार्वजनिक भएको हो।
उनको भनाइ :
वर्षौंदेखि राष्ट्रको ढुकुटीमा पसिना र मेहनतले जम्मा भएको पैसामाथि आँखा लगाउनेहरू अहिले त्रसित भएका छन्। मिडिया ट्रायल र प्रायोजित हल्ला उनीहरूको आत्तिएको अभिव्यक्ति मात्र हो। कारबाही रोकिने छैन, म विचलित हुने छैन। दिनको ५० करोड रुपैयाँ भ्रष्टाचार गर्नेहरूमाथि पनि यति धेरै ध्यान दिइएको देखिएको थिएन।
प्रकाशित मिति: ८ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया