कालिकोट । कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा इलाका प्रशासन कार्यालय सञ्चालनमा आएको छ। सोमबार एक कार्यक्रमका बीच उक्त कार्यालयको उद्घाटन गरिएको हो।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही ले कार्यालयको उद्घाटन गर्दै अब रास्कोट क्षेत्रका नागरिकले घर नजिकैबाट प्रशासनिक सेवा पाउने बताए। लामो समयदेखि नागरिकहरूले भोग्दै आएको टाढा सदरमुकाम धाउनुपर्ने समस्या अब अन्त्य भएको उनको भनाइ छ।

advertisement

यस कार्यालयबाट रास्कोट नगरपालिका सहित सान्नि त्रिवेणी, पचालझरना र पलाता गाउँपालिकाका करिब ५० हजारभन्दा बढी नागरिक लाभान्वित हुनेछन्। यसअघि नागरिकता तथा राष्ट्रिय परिचय पत्र बनाउनका लागि सदरमुकाम मान्म पुग्नुपर्थ्यो, जसका कारण समय र खर्च दुबै बढ्ने गरेको थियो।

उद्घाटन कार्यक्रममा बोल्दै शाहीले संघीयताको मर्मअनुसार स्थानीय तहमा सेवा विस्तार गरिएको बताए। उनले चुनावी प्रतिबद्धता अनुसार यो कार्यालय स्थापना गरिएको उल्लेख गर्दै सबै राजनीतिक दल र स्थानीय तहको सहकार्यले यो सम्भव भएको बताए।

प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयल ले पनि सरकार नागरिकको घरदैलोमै सेवा पुर्‍याउने उद्देश्यका साथ अघि बढिरहेको जानकारी दिए। उनका अनुसार अब राहदानी र राष्ट्रिय परिचय पत्र सेवा पनि थप सहज बनाउने योजना रहेको छ।

हाल कार्यालयमा ६ जना कर्मचारीबाट सेवा सञ्चालन भइरहेको छ। शाखा अधिकृतको नेतृत्वमा नायब सुब्बा, कार्यालय सहयोगी र कम्प्युटर अपरेटरको व्यवस्था गरिएको छ।

स्थानीय वासीमा खुसी

नयाँ कार्यालय सञ्चालन भएपछि स्थानीयवासीहरू निकै खुसी देखिएका छन्। पचालझरना गाउँपालिका–४ की सलिना सेजुवालले पहिलो पटक यही कार्यालयबाट नागरिकता लिँदै घर नजिकै सेवा पाउँदा सहज भएको बताइन्।

त्यस्तै, रास्कोट नगरपालिका–५ का ८२ वर्षीय सर्जन रोकायाले पनि हराएको नागरिकताको प्रतिलिपि यहीँबाट लिन पाउँदा खुसी व्यक्त गरे। पहिले टाढा सदरमुकाम जानुपर्ने झन्झटका कारण उनले सेवा लिन नसकेको बताए।

अब इलाका प्रशासन कार्यालय सञ्चालनमा आएपछि चारवटै स्थानीय तहका नागरिकले नागरिकता र राष्ट्रिय परिचय पत्र जस्ता सेवा सहज रूपमा लिन सक्ने भएका छन्।

प्रकाशित मिति: ८ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com