काठमाडौं। काठमाडौँ महानगरपालिकाले नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारी सेवा सञ्चालन गर्न अन्तिम ३ दिनको समय दिएको छ। तोकिएको अवधिभित्र बसपार्कभित्र सेवा प्रवेश नगराए कानुन बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।

गत चैत २५ गते सार्वजनिक सूचना जारी गर्दै महानगरले लामो तथा छोटो दुरीका सार्वजनिक सवारीलाई नयाँ बसपार्क बाटै एकीकृत रूपमा सञ्चालन गर्न आग्रह गरेको थियो। सोही कार्यान्वयनको समीक्षा तथा आगामी योजना तय गर्न आज कार्यवाहक प्रमुख सुनिता डंगोल को अध्यक्षतामा बैठक बसेको हो।

advertisement

बैठकमा नुवाकोटतर्फ सञ्चालन हुने यातायात कम्पनीहरू सम्पर्कमा आएको तर धादिङतर्फका केही कम्पनीले सूचनाको अवज्ञा गरेको जानकारी दिइएको थियो। त्यस्ता कम्पनीलाई अब अन्तिम ३ दिनभित्र एकीकृत प्रणालीमा आउन निर्देशन दिइएको छ।

महानगरले सहरी व्यवस्थापन र सुरक्षालाई ध्यानमा राख्दै संयुक्त अनुगमनलाई प्राथमिकता दिएको छ। यसक्रममा महानगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशी लाई नेपाल प्रहरी सँग समन्वय गरी संयुक्त टोली बनाएर प्रभावकारी अनुगमन गर्न निर्देशन दिइएको छ।

बैठकमा सहभागी ईश्वर कार्की ले सहरी सुरक्षामा जनशक्तिभन्दा प्रविधिमा आधारित निगरानी बढाउनुपर्नेमा जोड दिएका छन्। यस्तै रमेश थापा ले गुण्डागर्दीविरुद्धको अभियान प्रभावकारी बन्दै गएको जानकारी दिए।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारी ले सडक अनुशासन र संकेत पालनामा महानगर र ट्राफिक प्रहरीबीच समन्वय आवश्यक रहेको बताए।

प्रहरी नायव उपरीक्षक सुनिलजंग शाह का अनुसार काठमाडौंबाट दैनिक करिब ७ सय सार्वजनिक सवारी बाहिरिने गरेका छन्। तीमध्ये झण्डै ३५० सवारी साधन बसपार्क बाहिरै पार्किङ गर्ने, यात्रु चढाउने–ओराल्ने गतिविधिमा संलग्न हुने गरेका छन्, जसले सवारी व्यवस्थापनमा चुनौती थपेको छ।

महानगरले सार्वजनिक सवारी व्यवस्थापन, टिकट काउन्टर सञ्चालन, पार्किङ र यात्रु चढाउने–ओराल्ने कार्यलाई व्यवस्थित बनाउन कडाइ गर्ने संकेत दिएको छ।

प्रकाशित मिति: ८ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com