वासिङ्टन। अमेरिकामा इरान सँगको बढ्दो सैन्य तनावविरुद्ध प्रदर्शनमा उत्रिएका दर्जनौँ पूर्व सैनिक तथा उनका परिवारका सदस्यहरूलाई क्यापिटल हिल बाट प्रहरीले पक्राउ गरेको छ।
सोमबार वासिङ्टनस्थित क्यानन हाउस अफिस बिल्डिङ को रोटुन्डामा करिब ६० जना प्रदर्शनकारीले युद्धविरोधी प्रदर्शन गरेका थिए। उक्त प्रदर्शनका क्रममा अमेरिकी क्यापिटल प्रहरी ले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
‘अबाउट फेस: भेट्रान्स अगेन्स्ट द वार’ लगायत विभिन्न समूहको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरूले इरानविरुद्धको सैन्य कारबाही तत्काल रोक्न माग गरेका थिए। धेरै पूर्व सैनिकहरू सैनिक पोसाकमै उपस्थित भई युद्धको प्रभाव र पीडाबारे प्रत्यक्ष अनुभवसहित विरोधमा उत्रिएका थिए।
प्रदर्शनकारीहरूले ‘इरानमाथिको युद्ध अन्त्य गर’ र ‘हामीलाई अर्को युद्ध स्वीकार्य छैन’ जस्ता नारासहित ब्यानर प्रदर्शन गरेका थिए। उनीहरूले युद्धमा ज्यान गुमाएका तथा गुम्न सक्ने सैनिकहरूको सम्झनामा प्रतीकात्मक रूपमा झण्डा ओढाउने कार्यक्रम पनि गरेका थिए। साथै, इरानका मृतक नागरिकहरूको सम्मानमा रातो ट्युलिप फूल बोकेका थिए।
प्रदर्शनअघि बोल्दै पूर्व सैनिक माइक प्रिसनर ले यो युद्ध अमेरिकाभित्र अलोकप्रिय बन्दै गएको र डोनाल्ड ट्रम्प प्रशासनका लागि ठूलो चुनौती भएको बताए। उनका अनुसार थप सैनिकहरू पनि युद्धविरुद्ध आवाज उठाउन थालेका छन्।
गत फेब्रुअरी २८ देखि सुरु भएको युद्धपछि अमेरिकाभित्र विरोध प्रदर्शन तीव्र बन्दै गइरहेका छन्। युद्धका कारण बजेट र जनधनमा परेको असरलाई लिएर सर्वसाधारणदेखि विभिन्न समूहसम्म सरकारको आलोचना बढेको छ।
संसद भवनभित्र गरिएको शान्तिपूर्ण नागरिक अवज्ञालाई सुरक्षा निकायले कानुनविपरीत भन्दै हस्तक्षेप गरेपछि प्रदर्शनकारीहरू पक्राउ परेका हुन्। यस घटनाले इरान युद्धप्रति अमेरिकाभित्र बढ्दो असन्तुष्टि र सरकारमाथि बढ्दो दबाबलाई थप उजागर गरेको विश्लेषण गरिएको छ।
प्रकाशित मिति: ८ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया