काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा पूर्वाधार निर्माण कार्य तीव्र पार्ने उद्देश्यले आगामी जेठ ४ गतेसम्म दैनिक राति ७ घण्टा उडान तथा अवतरण बन्द गरिने भएको छ।
विमानस्थलको टर्मिनल व्यवस्थापन महाशाखा प्रमुख इन्दुराज अधिकारी का अनुसार हरेक दिन राति ११:४५ बजेदेखि बिहान ६:३० बजेसम्म ‘पेभमेन्ट कन्स्ट्रक्सन वर्क’ सञ्चालन गर्न विमानस्थल पूर्ण रूपमा बन्द रहनेछ।
विमानस्थल कार्यालयले जारी गरेको सूचनाअनुसार धावनमार्ग नजिकैको ट्याक्सीवे क्षेत्रमा निर्माण कार्य भइरहेकाले सुरक्षाका कारण रातिको समयमा उडान सञ्चालन रोक्नुपरेको हो। निर्माण कार्य छिटो सम्पन्न गर्न यो निर्णय गरिएको बताइएको छ।
यस अवधिमा यात्रु र उडान व्यवस्थापनमा असर पर्न सक्ने भएकाले सबै हवाई सेवा प्रदायक कम्पनीहरूलाई आफ्नो उडान तालिका आवश्यकताअनुसार समायोजन गर्न आग्रह गरिएको छ।
नेपालको सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रहेको यस विमानस्थलमा पछिल्लो समय यात्रु चाप बढ्दै गएको छ। सोही कारण रनवे, ट्याक्सीवे तथा टर्मिनल क्षेत्रको स्तरोन्नति तथा विस्तार कार्य अघि बढाइएको विमानस्थल कार्यालयले जनाएको छ।
प्रकाशित मिति: ८ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया