काठमाडौं । गृहमन्त्री सुधन गुरुङविरुद्ध लागेको आरोपको निष्पक्ष छानबिन गर्न माग गर्दै जेनजी मुभमेन्ट नेपालले उनलाई पदबाट हटाई पक्राउ गर्नुपर्ने मागसहित प्रहरी प्रधान कार्यालयमा निवेदन दर्ता गरेको छ।
संगठनका प्रवक्ता विजय शाहले आइतबार प्रहरी महानिरीक्षकलाई सम्बोधन गर्दै उक्त निवेदन अनलाइनमार्फत पठाइएको जानकारी दिए। उनका अनुसार निवेदनमा गृहमन्त्री पदमा बहाल रहँदा उनीमाथिको अनुसन्धान प्रभावित हुन सक्ने भएकाले तत्काल पदबाट हटाएर कानुनी प्रक्रिया अघि बढाउनुपर्ने उल्लेख छ।
निवेदनमा मन्त्री पदमा रहँदा प्रमाण नष्ट हुने र अनुसन्धानमा अवरोध सिर्जना हुन सक्ने जोखिम रहेको दाबी गर्दै उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने माग गरिएको छ।
जेनजी मुभमेन्टले गुरुङमाथि राजनीतिक तथा प्रशासनिक दुरुपयोगका आरोप पनि लगाएको छ। आन्दोलनका नाममा गतिविधि नियन्त्रण गर्ने बहानामा आन्दोलनलाई प्रभावित बनाएको, हिंसात्मक मोडतर्फ धकेलेको तथा व्यक्तिगत लाभ र पद प्राप्तिका लागि बिचौलियासँग मिलेमतो गरेको आरोप निवेदनमा उल्लेख गरिएको छ।
संगठनले यस घटनाले आन्दोलनका क्रममा ज्यान गुमाएका ७६ जनाको बलिदानको अपमान भएको दाबी पनि गरेको छ।
निवेदनमार्फत चार मुख्य माग अघि सारिएको छ—गृहमन्त्रीलाई पदबाट हटाउने सिफारिस, उनलाई पक्राउ गरी हिरासतमा राख्ने, निष्पक्ष र समयबद्ध अनुसन्धान गर्ने तथा अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्ने।
संगठनले प्रहरी ऐन २०१२ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ अनुसार तत्काल कारबाही प्रक्रिया अघि बढाउन आग्रह गरेको छ। प्रहरीले भने यस विषयमा हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।
प्रकाशित मिति: ८ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया