काठमाडौं। नेपाल केरा उत्पादक महासंघ ले सरकारसँग केरा आयात नखुलाउन माग गरेको छ। महासंघले स्वदेशी उत्पादनलाई प्रोत्साहन गरे १–२ वर्षभित्रै नेपाल केरामा आत्मनिर्भर बन्न सक्ने दाबी गरेको हो।

मंगलबार जारी विज्ञप्तिमा महासंघले बजारमा बिचौलियाको प्रभावका कारण किसान र उपभोक्ता दुवै मारमा परेको उल्लेख गरेको छ। किसानले बारीबाट प्रतिदर्जन ५०–८५ रुपैयाँमा बेच्ने केरा उपभोक्ताले भने ३५०–४०० रुपैयाँसम्म तिर्नुपर्ने अवस्था रहेको जनाएको छ।

advertisement

महासंघले विदेशी केराको आयातले ‘फ्युजारियम विल्ट’ जस्ता खतरनाक रोगको जोखिम बढाउने भन्दै राष्ट्रिय जैविक सुरक्षामै खतरा उत्पन्न हुन सक्ने चेतावनी दिएको छ।

सरकारले हालै केरा आयात नियन्त्रण गर्ने निर्णय गरेकोप्रति महासंघले स्वागत गर्दै यसले देशको कृषि प्रणाली संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।

महासंघका अनुसार हाल देखिएको मूल्यवृद्धि अस्थायी हो। देशभर ४०–५० लाख नयाँ केराका बिरुवा विस्तार भइरहेकाले निकट भविष्यमै उत्पादन बढ्ने र बजार सन्तुलनमा आउने दाबी गरिएको छ।

सरकारले विशेषगरी भारत बाट आयात हुने केरामा अत्यधिक विषादी फेला परेपछि आयातमा कडाइ गरेको हो। आयात घटेसँगै बजारमा केरा मूल्य बढे पनि दीर्घकालीन रूपमा स्वदेशी उत्पादनलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: ८ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com