काठमाडौं। राष्ट्रिय जेनजी नागरिक अभियानले गृहमन्त्री सुधन गुरुङ ले २४ घण्टाभित्र राजीनामा नदिए सडक संघर्षमा उत्रने चेतावनी दिएको छ।
मंगलबार काठमाडौंमा कार्यक्रम गरेर गृहमन्त्रीमाथि गम्भीर प्रश्न उठेकाले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने माग राखेको छ।
अभियानका संयोजक सुनिल सिंहले गृहमन्त्रीले तत्काल राजीनामा दिनु उचित हुने बताए। जेनजीको संघर्षलाई हाइज्याक गरेर दुई तिहाई ल्याएर जेनजीलाई नै अपमान गरिरहेको सिंहले जिकिर गरे।
‘यसअघि दिपककुमार साहलाई स्पष्टीकरण दिने अवसरसमेत नदिएको अवस्थामा अहिले गृहमन्त्री सुधन गुरुङप्रति फरक मापदण्ड अपनाइएको देखिनु न्याय र समानताको दृष्टिले गम्भीर प्रश्न हो,’ सिंहले भने।
सस्तो लोकप्रियताबाट उदाएको रास्वपा सरकार सिंगो देशका निम्ति घातक बन्न थालेको बताउँदै सिंहले भने, ‘स्टन्टबाजहरुले जतिसुकै नाटक गरे पनि उनीहरुका गलत हर्कतहरुको कारण एकदिन आफंै सडकमा पछारिने निश्चित छ।’
अभियानका सह–संयोजक अजय सोडारीले गृहमन्त्रीले तत्काल राजीनामा गर्नुपर्ने माग गरे। ‘हिजो राजनीतिमा हुँदा ‘देशमा केही भएन, गरिखान गाह्रो भयो’ भन्नेहरू आज एकाएक करोडौंका मालिक बनेर देखिनु आफैंमा प्रश्न उठाउने विषय हो,’ सोडारीले भने।
सोडारीले प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुधन गुरुङ र उनका साथीहरूले ‘नेपो किड’ विरुद्ध आन्दोलन गरेको तर आज उनीहरु आफै त्यही प्रवृत्तिका प्रतिनिधि देखिएको आरोप लगाए। उनले थपे,‘गरिबीको पक्षमा बोलेर आएका उहाँहरु आज गरिबलाई नै होच्याउने अवस्थामा पुग्नु भएको छ, जुन हास्यास्पद विषय हो।’
अभियानका सचिव प्रकाश बमले भदौ २३ र २४ गतेको आन्दोलनको बलबाट आएको सरकारका गृहमन्त्रीले आफैमाथि प्रश्न उठ्दा तत्काल राजीनामा दिएर सहज गर्नुपर्ने बताए।
तत्कालिन गृहमन्त्री रवि लामिछानेले आफूमाथि प्रश्न उठेपछि राजीनामा दिएको घटनाको स्मरण गराउँदै बमले भने, ‘यत्रो शक्तिशाली गृहमन्त्रीले आफ्ना कर्तुतको ढाकछोप गर्नुले रास्वपामाथि नै प्रश्न उठ्दैन र ?’
प्रकाशित मिति: ८ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया