काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा आज कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा सहभागी हुन विराटनगर जाँदै छन्। निर्धारित कार्यतालिका अनुसार उनी बिहान ९:५० बजे विराटनगर विमानस्थलमा अवतरण गर्नेछन् भने समीक्षा कार्यक्रम बिहान १०:३० बजेबाट सुरु हुनेछ। पार्टीकी सहमहामन्त्री डा. डिला सङ्ग्रौलाका अनुसार कार्यक्रमको तयारी पूरा भइसकेको छ।
प्रदेशस्तरीय सङ्गठन सुदृढीकरण, निर्वाचन परिणामको समीक्षा तथा आगामी रणनीति निर्धारण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा कोशी प्रदेशका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश कार्यसमिति, संघीय तथा प्रदेश सांसद, जिल्ला र क्षेत्रीय सभापतिहरू, साथै अघिल्लो निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरूको सहभागिता रहनेछ।
नेपाली कांग्रेसले पछिल्लो समय विभिन्न प्रदेशमा यस्ता समीक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसअघि गण्डकी, लुम्बिनी, बागमती र मधेस प्रदेशमा कार्यक्रम सम्पन्न गरिसकेको पार्टीले आज कोशी प्रदेशमा पनि सङ्गठनात्मक छलफललाई निरन्तरता दिन लागेको हो।
पार्टी नेतृत्वले समीक्षा कार्यक्रममार्फत स्थानीय तहदेखि प्रदेश तहसम्मको सङ्गठनको अवस्था, चुनावी परिणाम, कमजोरी तथा सुधारका सम्भावनाबारे प्रत्यक्ष सुझाव सङ्कलन गर्ने अपेक्षा गरेको छ। साथै आगामी राजनीतिक रणनीति, सङ्गठन विस्तार, क्रियाशील सदस्यता, १५औँ महाधिवेशनको तयारी र कार्यकर्ताको सक्रियता वृद्धि गर्ने विषयमा समेत विस्तृत छलफल हुने बताइएको छ।
सहमहामन्त्री सङ्ग्रौलाका अनुसार कोशी प्रदेशमा पार्टी नेतृत्व व्यवस्थापन र सङ्गठन सुदृढीकरणका विषयलाई बैठकमा विशेष प्राथमिकताका साथ उठाइनेछ।
प्रकाशित मिति: ९ बैशाख २०८३, बुधबार













प्रतिक्रिया