ललितपुर । ललितपुर महानगरपालिकासँगको सहकार्यमा सशस्त्र प्रहरी बल, नेपाल नं. २१ गण हे.क्वा. दक्षिणकाली ललितपुरले १७ जना स्वयंसेवकहरुलाई संचालन गरेको ७ दिने “विपद व्यवस्थापन स्वयमसेवक पुनर्ताजगी तालिम” सम्पन्न भएको छ । ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबू महर्जनको प्रमुख आतिथ्यतामा सशस्त्र प्रहरी बल, नेपाल नं. २१ गण परिसरमा आयोजित एक समारोहका बीच उक्त तालीम सम्पन्न भएको हो ।
ललितपुर महानगरपालिकाको विभिन्न वडाहरु बाट प्रतिनिधित्व गरी तालीममा सहभागी प्रशिक्षार्थीहरूलाई तालीमको दौरान विपद्को परिचय, नेपालमा हुन सक्ने विपद्का घटना, सरोकारवाला निकायसँग गरिने समन्वय, भत्केका संरचनामा गरिने खोज तथा उद्धार, जलोत्पन्न विपद् र त्यसमा गरिने उद्धार, डोरीबाट गरिने उद्धार लगायतका विषयमा तालिम दिइएको थियो । त्यसैगरी आजकै मितिबाट ललितपुर महानगरपालिकाको २४ जना नगर प्रहरीहरुलाई समेत सशस्त्र प्रहरी बल, नेपाल नं. २१ गणको आयोजनामा “पानी उद्धार रिफ्रेसर तालिम” संचालन गरिएको छ ।

बुधबार आयोजित समापन कार्यक्रमका प्रमुख अतिथि ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबू महर्जनले विपद् व्यवस्थापनमा समुदाय स्तरमै दक्ष जनशक्ति तयार पार्न यस्ता तालिमहरू अत्यन्त उपयोगी हुने बताउँदै आगामी दिनहरुमा समेत सशस्त्र प्रहरी बल, नेपाल सँग सहकार्य गर्दै अगाडी बढ्ने प्रतिबद्दता गर्दै विपद जोखिम न्युनिकरणमा ललितपुर महानगर सचेत रहेको समेत बताउनु भयो। सशस्त्र प्रहरी बल, नेपाल नं. २१ दक्षिणकाली, ललितपुरसँगको यो सहकार्य र सम्बन्ध अझै प्रभावकारी र निरन्तर रहोस् भन्ने उद्देश्यले महानगरपालिकाबाट गणलाई केही विपद सामाग्रीहरु समेत हस्तान्तरण गरिएको छ ।

कार्यक्रमका विशिष्ट अतिथि सशस्त प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरेश कुमार श्रेष्ठले यस्तो किसिमको तालीमले समुदायका नागरिकहरुमा विपद सम्बन्धी ज्ञान र सीपको विकास हुने बताउनु भएको छ । जुनसुकै विपदको समयमा समुदायका नागरिकहरु नै पहिलो उद्दारक हुने भएकोले यस्तो तालीमको औचित्य अझै बढी रहेको समेत बताएका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल नं. २१ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक लकेश कुमार तुम्बाहाङ्गफेले, २०८२ सालमा संचालन भएको १८ कार्यदिनको “समुदाय विपद स्वयमसेवक तालीम” मा सहभागी भएका स्वयमसेवकहरुलाई समय सापेक्ष पुनर्ताजगी गराउने उद्देश्यले उक्त तालीम संचालन गराएको बताए । तालिमको उद्देश्य र उपलब्धि प्रस्तुत गर्दै सहभागीहरूलाई प्राकृतिक तथा मानवीय विपद्का अवस्थाहरू बुझ्न, मूल्याङ्कन गर्न, तयारी गर्न तथा उद्धार र राहत कार्यमा व्यावहारिक सीप प्रदान गरिएको जानकारी दिए।

कार्यक्रमका प्रमुख अतिथि तथा विशिष्ट अतिथिले गणका गणपति, तालीममा सहभागी प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई प्रसंशा पत्र तथा प्रमाणपत्र वितरण गरे, उक्त कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं. १२ का वडाअध्यक्ष, विभिन्न महाशाखा तथा शाखा प्रमुखहरु, नगर प्रहरी बलका प्रमुख, सशस्त्र प्रहरी बल कर्मचारीहरु तथा संचारकर्मीहरुको उपस्थती रहेको थियो।
प्रकाशित मिति: ९ बैशाख २०८३, बुधबार













प्रतिक्रिया