काठमाडौं। पुष्पकमल दाहाल ले पछिल्लो समय कम्युनिस्ट आन्दोलन मा आएको धक्कालाई आत्मसमीक्षा गर्ने अवसरका रूपमा लिनुपर्ने बताएका छन्।
पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी का संयोजक समेत रहेका प्रचण्डले क्षणिक रूपमा आन्दोलन कमजोर देखिए पनि त्यसबाट शिक्षा लिन आवश्यक रहेको बताए।
‘अहिले क्षणिक रूपमा कम्युनिस्ट आन्दोलनले धक्का खाएको देखिएकै छ। त्यसबाट हामीले शिक्षा लिनुपर्छ र कहाँ कमजोरी भयो भन्ने विषयमा वस्तुवादी समीक्षा गर्नुपर्छ,’ उनले भने।
पछिल्लो निर्वाचनमा कम्युनिस्ट शक्तिले अपेक्षित सफलता हासिल गर्न नसकेको स्वीकार गर्दै उनले यस्ता धक्काले सुधारको अवसर प्रदान गर्ने बताए। ‘यी धक्काहरू हामीभित्र जम्मा भएको फोहोर सफा गर्ने अवसर पनि हुन्। सायद सत्तामा हुँदा हामीभित्र कमजोरीहरू थुप्रिएका थिए,’ प्रचण्डले उल्लेख गरे।
उनले जनताले आफूहरूलाई अस्वीकार नगरेको, बरु सुधार गरेर पुनः प्रस्तुत हुन सन्देश दिएको दाबी गरे। ‘जनताले हामीलाई घृणा गरेका होइनन्, नुहाइधुवाई गरेर सफा भएर आउ भन्नुभएको हो,’ उनले भने।
विगतका गल्ती स्वीकार गर्न तयार रहनुपर्नेमा जोड दिँदै प्रचण्डले कम्युनिस्ट र अन्य राजनीतिक धारबीचको फरक नै आत्मालोचना गर्ने क्षमतामा आधारित हुने धारणा राखे।
साथै, उनले आगामी दिनमा राष्ट्रवादी शक्तिहरूलाई एक ठाउँमा ल्याएर देशका चुनौती सामना गर्न नयाँ ढंगले राजनीतिक संवाद अघि बढाइने जानकारी दिए।
प्रकाशित मिति: ९ बैशाख २०८३, बुधबार













प्रतिक्रिया