काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिस्ट आन्दोलन अहिले अस्थायी रूपमा कमजोर बनेको स्वीकार गरेका छन्। उनले यस अवस्थालाई गम्भीर समीक्षा गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका छन्।
कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले आन्दोलनमा आएको गिरावटलाई आत्मसमिक्षाको अवसरका रूपमा लिनुपर्ने बताए। उनले भने, ‘अहिले आन्दोलनले क्षणिक धक्का व्यहोरेको छ। कहाँ कमजोरी भयो भन्ने विषयमा वस्तुगत मूल्याङ्कन गर्न आवश्यक छ। यस्ता अवस्थाले हामीभित्रका विकृति र कमजोरी सुधार्ने मौका पनि दिन्छ।’
उनले सत्तामा रहँदा पार्टीभित्र विभिन्न विकृतिहरू जम्मा भएको स्वीकार गर्दै त्यसलाई सुधार्नुपर्ने आवश्यकता औँल्याए। जनताले कम्युनिस्ट आन्दोलनलाई अस्वीकार नगरेको तर सुधारको अपेक्षा राखेको उनको भनाइ थियो। ‘जनताले हामीलाई त्यागेका होइनन्, बरु सुधारिएर फर्कन सन्देश दिएका हुन्,’ उनले भने।
प्रचण्डले वर्तमान अवस्थालाई पार्टी शुद्धीकरण र पुनर्गठनको अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए। आगामी महाधिवेशनलाई लक्षित गर्दै संगठनलाई तल्लो तहदेखि माथिसम्म पुनः संरचना गर्ने र नयाँ, ऊर्जाशील तथा गतिशील नेतृत्वलाई प्राथमिकता दिने योजना रहेको उनले उल्लेख गरे।
साथै, उनले पार्टीको महाधिवेशन आगामी ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको र सम्भव भएसम्म असोज महिनासम्म आयोजना गर्ने तयारी भइरहेको जानकारी दिए।
प्रकाशित मिति: ९ बैशाख २०८३, बुधबार













प्रतिक्रिया