काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले निवर्तमान गृहमन्त्री सुधन गुरुङको राजीनामालाई सकारात्मक र उपयुक्त निर्णयका रूपमा टिप्पणी गरेका छन्। साथै, रिक्त रहेको गृहमन्त्री पदमा रास्वपा सांसद अमरेशकुमार सिंहलाई जिम्मेवारी दिन सकिने सुझाव पनि उनले दिएका छन्।

बुधबार गृहमन्त्री पदबाट गुरुङले राजीनामा दिएपछि प्रतिक्रिया दिँदै महेश बस्नेतले उक्त निर्णयले उनलाई सम्भावित कडा कारबाहीबाट जोगाएको उल्लेख गरे। ‘उहाँ बहिर्गमनको अवस्थामा पुग्नुभएको थियो, राजीनामा नदिएको भए थप कारबाहीको सामना गर्नुपर्थ्यो,’ उनले भने।

advertisement

बस्नेतले गृहमन्त्री गुरुङमाथि देखिएको विवादका कारण पदबाट हटाउन आफूहरूले पनि निरन्तर दबाब दिँदै आएको बताए। नयाँ गृहमन्त्रीबारे सञ्चारकर्मीको प्रश्नमा उनले अमरेशकुमार सिंहको नाम अघि सारेका हुन्। ‘अमरेश सिंह मेरो पुरानो साथी पनि हुनुहुन्छ, उहाँलाई जिम्मेवारी दिए राम्रो हुन्छ भन्ने मेरो व्यक्तिगत धारणा हो,’ उनले भने।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्धित मुद्दामा अदालतको आदेशले न्याय स्थापित भएको दाबी गर्दै सोही कारण आफूहरूले पूर्वनिर्धारित आन्दोलन स्थगित गरेको पनि बताए। ‘यदि अदालतबाट न्याय नपाएको भए हामी निर्णायक आन्दोलनमा जाने तयारीमा थियौं,’ उनले उल्लेख गरे।

गृहमन्त्री गुरुङले सम्पत्ति विवरण र विवादित व्यापारीसँगको सम्बन्धबारे उठेका प्रश्नका कारण चौतर्फी दबाब बढेपछि बुधबार प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसमक्ष राजीनामा बुझाएका थिए।
हाल गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहले नै अस्थायी रूपमा सम्हालिरहेका छन्।

प्रकाशित मिति: ९ बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com