काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सार्वजनिक बिदाको समयमा सरकारी अस्पतालहरूमा ओपीडी सेवा बन्द हुँदा बिरामीहरूलाई समस्या भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनका अनुसार ओपीडी सेवा अवरुद्ध हुँदा आधारभूत स्वास्थ्य सेवाको पहुँच कमजोर बनेको र बिरामीहरूमा अतिरिक्त आर्थिक भार थपिएको छ ।
उनले आफू स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा रहँदा अतिरिक्त समय काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन दिएर सार्वजनिक बिदाका दिनमा पनि सेवा सञ्चालन गर्ने व्यवस्था अघि बढाएको स्मरण गराए ।
त्यस्तै, सेवाग्राहीको बढ्दो चापलाई मध्यनजर गर्दै सरकारी अस्पतालहरूमा ओपीडी सेवा दुई सिफ्टमा सञ्चालन गर्ने तथा सेवा समय विस्तार गर्ने जस्ता सुधारात्मक काम सुरु गरिएको पनि उनले बताए । स्वास्थ्य सेवा विशिष्ट प्रकृतिको भएकाले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अतिरिक्त प्रोत्साहन भत्ता दिने अध्ययन प्रतिवेदन तयार गरी कार्यान्वयनमा लगिएको उनले उल्लेख गरे ।
अस्पतालमा जनशक्तिको अभाव पूर्ति गर्न पहिलो चरणमा २५०० नयाँ जनशक्ति थप गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको पनि उनले जानकारी दिए ।
उनले सरकारी अस्पतालमार्फत नागरिकलाई सहज, सरल र गुणस्तरीय सेवा उपलब्ध गराउनुपर्ने र निजी क्षेत्रलाई पनि सँगै अघि बढाएर मात्र स्वास्थ्य प्रणालीलाई नागरिकमैत्री बनाउन सकिने बताए । साथै, सुरु गरिएका सुधार कार्यक्रमलाई निरन्तरता दिँदै स्वास्थ्य सेवालाई अझ प्रभावकारी, पहुँचयोग्य र जनमुखी बनाउन सरकारसँग आग्रह गरेका छन् ।
प्रकाशित मिति: १० बैशाख २०८३, बिहिबार












प्रतिक्रिया