काठमाडौं । नेपालको राजनीतिक तथा प्रशासनिक संरचनामा गृहमन्त्रीको पद अत्यन्त शक्तिशाली र संवेदनशील मानिन्छ। तर हालै गृहमन्त्री सुदन गुरुङ ले पदभार सम्हालेको जम्मा २६ दिनमै राजीनामा दिएपछि सार्वजनिक जीवनको नैतिकता र व्यक्तिगत स्वार्थबीचको द्वन्द्व फेरि चर्चामा आएको छ।

गुरुङको राजीनामा आकस्मिक नभई पछिल्लो समय उनीमाथि उठेका गम्भीर प्रश्नहरूको परिणामका रूपमा आएको देखिन्छ। विशेषगरी सार्वजनिक पदमा रहँदा निजी व्यावसायिक संलग्नता र लगानीसम्बन्धी विषयले उनको निष्पक्षतामाथि प्रश्न खडा गरेको थियो।

advertisement

उनको नाममा रहेका सेयर तथा लगानी विवादास्पद व्यावसायिक समूहहरूसँग जोडिएको सार्वजनिक भएपछि आलोचना चुलिएको थियो। अझ सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर आरोप लागेका व्यक्तिहरूसँग सम्बन्धित कम्पनीहरूमा उनको संलग्नता देखिएको भनाइले ‘सुशासन’ र ‘पारदर्शिता’प्रतिको उनको प्रतिबद्धतामाथि नै प्रश्न उठाएको थियो।

एकातर्फ मन्त्रालयमा आक्रामक रूपमा काम गर्ने प्रयास गरिरहेका गुरुङ अर्कोतर्फ आफ्नै व्यावसायिक पृष्ठभूमिका कारण नैतिक संकटमा परे। अन्ततः उनले पदभन्दा सार्वजनिक विश्वास ठूलो भएको उल्लेख गर्दै निष्पक्ष छानबिनका लागि मार्गप्रशस्त गर्न राजीनामा दिएका हुन्।

यस घटनालाई एउटा मन्त्रीको बहिर्गमनका रूपमा मात्र नभई सार्वजनिक पदमा रहने व्यक्तिको नैतिक धरातलको परीक्षणका रूपमा पनि हेरिएको छ। छोटो समयमै यस्तो घटनाले वर्तमान सरकारको मन्त्री छनोट प्रक्रिया र कार्यसम्पादन क्षमतामाथि समेत प्रश्न उठाएको छ।

यसबीच बिहान प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच गुरुङको आर्थिक कारोबार र सेयर लगानीसम्बन्धी उठिरहेका प्रश्नहरूबारे छलफल भएको थियो। विवादास्पद व्यापारीहरूसँगको सम्बन्धबारे विपक्षी दल र सामाजिक सञ्जालमा आलोचना बढेपछि सरकार दबाबमा परेको थियो।

स्रोतका अनुसार उक्त छलफलमा गुरुङलाई नैतिक आधारमा राजीनामा दिन सुझाव दिइएको थियो। सरकारको ‘क्लिन इमेज’ जोगाउन तत्काल निकास खोज्नुपर्ने निष्कर्ष निकालिएको बताइएको छ। प्रारम्भमा गुरुङले स्पष्टीकरण दिने प्रयास गरे पनि नेतृत्वको कडा सन्देशपछि उनले राजीनामा दिने निर्णय लिएका हुन्।

सामाजिक सञ्जालमार्फत उनले सार्वजनिक विश्वासलाई प्राथमिकता दिँदै निष्पक्ष छानबिनका लागि आफूले मार्गप्रशस्त गरेको बताएका छन्।

२६ दिनमै पदबाट बाहिरिएका गुरुङको यो निर्णयलाई नेपाली राजनीतिमा नैतिक जवाफदेहिताको उदाहरणका रूपमा पनि हेरिएको छ। साथै, सरकारभित्र गलत कामप्रति सहनशीलता नदेखाउने सन्देशका रूपमा पनि यसको व्याख्या गरिएको छ। अब मन्त्रिमण्डलमा नयाँ गृहमन्त्री को बन्छ भन्ने विषयमा चासो बढेको छ।

प्रकाशित मिति: १० बैशाख २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com