काठमाडौं। काठमाडौं महानगरपालिकाको आर्थिक तथा नेपाल रेडक्रस सोसाइटी काठमाडौं शाखाको प्राविधिक सहयोगमा सञ्चालन गरिएको प्राथमिक उपचार तालिम प्रभावकारी बनेको छ ।
यसका लागि महानगरपालिका र रेडक्रसबीच सम्झौता समेत भएको छ ।
हालसम्म ६ वडाका १५१ जनालाई प्राथमिक उपचार तालिम दिइएको छ, जसमा ११४ महिला र ३७ पुरुष सहभागी छन् ।
नेपाल रेडक्रस सोसाइटी काठमाडौँका सभापति श्यामकाजी डोटेलका अनुसार यस्ता तालिमले विपद्को समयमा तत्काल उद्धार र प्राथमिक उपचार गर्न सहज बनाउँछ ।
उनले टोलस्तरमा महिलाको सहभागिता बढ्नुले वृद्धवृद्धा तथा समुदायलाई थप सहयोग पुग्ने बताए ।
काठमाडौँ महानगरपालिकाका महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका फोकल पर्सन ऋषिप्रसाद भुषालले यस्ता तालिम आपत्कालीन व्यवस्थापनका लागि अत्यन्त उपयोगी हुने बताएका छन् ।
महानगरले यस्तो तालिम ३२ वटै वडामा विस्तार गर्ने योजना बनाएको छ ।
यस तालिमबाट प्राप्त प्रमाणपत्र नेपालसहित १९२ देशमा मान्य हुने जनाइएको छ ।
तालिममा दुर्घटना, चोटपटक वा आकस्मिक स्वास्थ्य समस्यामा उपलब्ध साधनको प्रयोग गरी बिरामीको अवस्था बिग्रिन नदिने र स्थिर राख्ने सीप सिकाइन्छ ।
मुख्य उद्देश्य अस्पताल पु¥याउनुअघि बिरामीको अवस्था थप जटिल हुन नदिनु रहेको महानगरपालिकाले जनाएको छ ।
तालिममा दुर्घटना स्थलमा सुरक्षा सुनिश्चित गर्ने, घाइतेको प्रारम्भिक जाँच गर्ने, मुटु वा श्वासप्रश्वास बन्द भएको अवस्थामा सीपीआर (छाती थिच्ने र कृत्रिम श्वास दिने विधि) प्रयोग गर्ने तथा रक्तश्राव नियन्त्रण गर्ने जस्ता सीप समावेश छन् ।
प्रकाशित मिति: १० बैशाख २०८३, बिहिबार













प्रतिक्रिया