काठमाडौं। नेपाल टेलिकम ले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै विभिन्न नयाँ तथा परिमार्जित सुविधासहित ‘समर अफर २०८३’ सार्वजनिक गरेको छ।
वैशाख ११ गतेदेखि लागू हुने यस अफरअन्तर्गत भ्वाइस र डाटा सेवामा उल्लेखनीय सुधार गरिएको कम्पनीले जनाएको छ।
यसपटक कम्पनीले प्रयोगकर्ताको सहजतालाई ध्यानमा राख्दै प्रिपेड मोबाइलमा उपलब्ध २८ दिनको प्याकेजलाई बढाएर ३० दिनको बनाएको छ।
अब ३० दिनका सबै भ्वाइस प्याकेजहरू ‘अल–नेट’ सुविधासहित उपलब्ध हुनेछन्, जसबाट सबै नेटवर्कमा कल गर्न सकिनेछ।
कम्पनीका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार यसले ग्राहकलाई अझ बढी सुविधा दिनेछ।
अफरअन्तर्गत लोकप्रिय ‘सजिलो अनलिमिटेड प्याक’लाई अझ आकर्षक बनाइएको छ।
अब ९९९ रुपैयाँमा अनलिमिटेड अल–नेट भ्वाइस, मासिक ३०० जीबी डाटा र ३०० अल–नेट एसएमएस उपलब्ध हुनेछ।
त्यस्तै, ७९९ रुपैयाँको प्याकमा अनलिमिटेड अल–नेट भ्वाइस, १५० जीबी डाटा र २५० अल–नेट एसएमएसको सुविधा समावेश गरिएको छ।
डाटा प्याकतर्फ पनि नयाँ विकल्पहरू ल्याइएको छ। ५४९ रुपैयाँमा ४० जीबी र ९९९ रुपैयाँमा १०० जीबी डाटा प्याक उपलब्ध हुनेछ।
दैनिक इन्टरनेट प्रयोग गर्ने ग्राहकका लागि ५९९ रुपैयाँमा प्रतिदिन २ जीबी तथा ३४९ रुपैयाँमा प्रतिदिन १ जीबी प्रयोग गर्न सकिने मासिक योजना समावेश गरिएको छ।
छोटो समयका लागि सेवा प्रयोग गर्न चाहनेहरूका लागि २५ रुपैयाँमै १ घण्टासम्म चलाउन मिल्ने अनलिमिटेड भ्वाइस तथा डाटा प्याकेज पनि ल्याइएको छ, जुन आकस्मिक प्रयोगकर्ताका लागि उपयोगी हुने अपेक्षा गरिएको छ।
यसका अतिरिक्त कम्पनीले नाइट प्याक, कम्बो प्याक, सीयूजी, एसएमएस तथा एफटीटीएच सेवामा समेत नयाँ सुविधा थप गरेको जनाएको छ। ग्राहकहरूले आफ्नो मोबाइलबाट *१४१५# डायल गरेर, नेपाल टेलिकम एप मार्फत वा कम्पनीको आधिकारिक वेबसाइटबाट यी सबै प्याकेजहरूको जानकारी लिन र सेवा सक्रिय गर्न सक्नेछन्।
कम्पनीले यो अफरमार्फत ग्राहकलाई अझ सस्तो, सहज र लचकदार सेवा प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ।
प्रकाशित मिति: १० बैशाख २०८३, बिहिबार













प्रतिक्रिया