काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमित सार्वजनिक जग्गा खाली गराउन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएको खबर सार्वजनिक भएपछि काठमाडौँ महानगरपालिकामा छलफल तीव्र भएको छ।
सोही विषयलाई लिएर काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलको उपस्थितिमा सम्बन्धित वडाध्यक्षहरू र महानगर प्रहरीबीच समन्वय बैठक भइरहेको छ। छलफलमा थापाथली क्षेत्र पर्ने वडा नं. ११ का वडाध्यक्षसहित वडा नं. ६, १७ र ३२ का वडाध्यक्ष तथा महानगर प्रहरी प्रमुख विष्णु जोशी सहभागी छन्।
यसअघि काठमाडौँका प्रमुख जिल्ला अधिकारी इश्वरराज पौडेलले महानगर टोलीसँग समन्वय गर्दै अघि बढ्न आग्रह गरेका थिए। बैठकमा सहभागी एक वडाध्यक्षका अनुसार हालसम्म प्रधानमन्त्री कार्यालयबाट औपचारिक जानकारी नआए पनि जिल्ला प्रशासनसँग समन्वय भइसकेको छ।
उनका अनुसार संघीय सरकारले अघि बढाउन सक्ने सम्भावित कारबाहीमा महानगरले सहजीकरण गर्ने तयारी गरेको छ र सोही विषयमा छलफल केन्द्रित रहेको छ।
महानगर स्रोतका अनुसार सीडीओ पौडेलले थापाथली बस्ती हटाउने प्रक्रिया अघि बढाउनुअघि त्यहाँका बासिन्दालाई सुरक्षित रूपमा स्थानान्तरण गर्नुपर्ने सुझाव दिएका छन्। साथै, उनीहरूको सामान सुरक्षित राख्न नगर प्रहरीको सहयोग आवश्यक पर्ने पनि उल्लेख गरिएको छ।
त्यसैअनुसार प्रभावित बासिन्दालाई अस्थायी रूपमा होटल तथा लजमा बसोबासको व्यवस्था मिलाउने तयारीसमेत भइरहेको जनाइएको छ।
प्रकाशित मिति: १० बैशाख २०८३, बिहिबार













प्रतिक्रिया