काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह भारत भ्रमणमा जाने भएका छन्। भारत सरकारले उनलाई औपचारिक निम्तो दिइसकेको छ र उनले उक्त निम्तो स्वीकार गरिसकेका छन्।
भ्रमण निश्चित हुने प्रक्रियासँगै परराष्ट्र मन्त्रालय ले तयारी सुरु गरिसकेको छ। परराष्ट्र मन्त्री शिशिर खनाल ले यसअघि नै प्रधानमन्त्रीको भारत भ्रमण चाँडै हुने संकेत दिएका थिए।
भारतका विदेश मन्त्री एस. जयशंकर सँगको भेटका क्रममा पनि यो भ्रमणबारे छलफल भएको बताइएको छ। साथै भ्रमणको तयारीका लागि भारतबाट उच्चस्तरीय टोली नेपाल आउने सम्भावना रहेको स्रोतले जनाएको छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार हाल प्रारम्भिक तयारी मात्रै भइरहेको छ र भ्रमणको मिति भने अझै तय भइसकेको छैन।
यो भ्रमण प्रधानमन्त्रीमा नियुक्त भएपछि बालेन शाहको पहिलो औपचारिक विदेश भ्रमण हुने बताइएको छ, जसलाई नेपाल–भारत सम्बन्धका दृष्टिले महत्वपूर्ण मानिएको छ।
प्रकाशित मिति: ११ बैशाख २०८३, शुक्रबार












प्रतिक्रिया