काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर तथा कार्यवाहक प्रमुख सुनिता डंगोलले महानगरभित्र नदी किनार तथा सार्वजनिक क्षेत्रमा बनेका अनधिकृत संरचना हटाउने अभियानमा केन्द्र सरकारलाई पूर्ण सहयोग गर्ने बताएकी छन्

सामाजिक सञ्जालमार्फत महानगरको आधिकारिक धारणा सार्वजनिक गर्दै उनले सार्वजनिक, सरकारी तथा सामुदायिक जग्गाको संरक्षणका क्रममा मानवीय पक्षलाई प्राथमिकतामा राखिने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

advertisement

नेपाल सरकारका सम्बन्धित मन्त्रालय र जिल्ला प्रशासन कार्यालयले नदी किनार अतिक्रमण हटाउने निर्णय कार्यान्वयनमा महानगर सहयोगी रूपमा प्रस्तुत हुने उनको भनाइ छ । नगर कार्यपालिकाका सदस्यहरूसँग भएको छलफलपछि उनले अनधिकृत संरचना हटाउँदा मानव अधिकारका आधारभूत मान्यतालाई सम्मान गरिने स्पष्ट पारेकी छन् ।

संरचना हटाउने क्रममा ज्येष्ठ नागरिक, बिरामी, गर्भवती महिला, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष प्राथमिकता दिइने उनले उल्लेख गरेकी छन् । महानगरले यो प्रक्रिया सकेसम्म सुरक्षित, विवादरहित र कानुनसम्मत रूपमा अघि बढाउने लक्ष्य राखेको छ । साथै, प्रभावित व्यक्तिहरूसँग सम्मानजनक व्यवहार गरिने र न्यायका सिद्धान्तविपरीत कुनै काम नहुने उनले स्पष्ट पारेकी छन् ।

डंगोलले सार्वजनिक सम्पत्तिको संरक्षणसँग जोडिएको यस अभियानमा सहकार्य र समन्वय गर्न सम्बन्धित सबै निकाय, पदाधिकारी तथा सर्वसाधारणलाई अपिल समेत गरेकी छन् ।

प्रकाशित मिति: १२ बैशाख २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com