काठमाडौं । मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा निर्माण गरिएका घरटहरा हटाउने क्रममा स्थानीय बासिन्दाको आक्रमणबाट २२ जना सुरक्षाकर्मी घाइते भएका छन्। शनिबार साँझ सुरक्षाकर्मीले डोजर प्रयोग गरी सात पक्की घर भत्काएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि आक्रमण भएको हो।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख तथा प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार घर भत्काउने क्रममा सुरक्षाकर्मीमाथि ढुङ्गा, इँटा र बोतल प्रहार गरिएको थियो। उनका अनुसार मनोहरा क्षेत्रका करिब ८० प्रतिशत सुकुम्वासीले दिउँसै आफ्नो सामान सारिसकेका थिए। थापाथली र ग्रैह्रीगाउँका बस्ती हटाएर डोजरसहितको टोली मनोहरामा पुगेपछि संरचना भत्काउने काम सुरु गरिएको थियो। सुरुमा प्रहरीले कुनै बल प्रयोग नगरी स्थानीयलाई सामान सार्न सहयोग गर्दै काम अघि बढाएको थियो, तर राति पक्की घर भत्काउने क्रममा एक्कासि आक्रमण भएको उनले बताए।
घटनामा मध्यपुरथिमि प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानासहित ११ जना नेपाल प्रहरी घाइते भएका छन्। त्यस्तै, सशस्त्र प्रहरी बल नम्बर २२ दुवाकोटबाट खटिएका थप ११ जना सशस्त्र प्रहरी पनि घाइते भएका सशस्त्र प्रहरी उपरीक्षक वासुदेव महतले जानकारी दिए। उनका अनुसार आइतबार बिहानदेखि पुनः संरचना भत्काउने काम अघि बढाइनेछ।
मनोहरा सुकुम्वासी बस्तीमा कुल ७७७ घरटहरा रहेका छन्। बस्तीका एक स्थानीय सुनिल लामाका अनुसार अधिकांश घर भाडामा लगाइएका छन्। उनका भनाइमा सुरुमा टहरा निर्माण गरेर केही समूहले तीन लाखदेखि सात लाख रुपैयाँसम्ममा बिक्री गरेका थिए भने पक्की घरको मूल्य १८ लाख रुपैयाँसम्म पुगेको छ। उनले आफूले पनि करिब १५ वर्षअघि टहरा किनेर बस्दै आएको उल्लेख गर्दै सरकारले वास्तविक सुकुम्वासीको उचित व्यवस्थापन गर्नुपर्ने माग गरे।
यस बस्तीमा भाडा उठाउन केही व्यक्तिहरू नियमित आउने गरेको र धेरैजसो बासिन्दाले भाडा तिर्दै आएको पनि बताइएको छ।
प्रकाशित मिति: १३ बैशाख २०८३, आइतबार













प्रतिक्रिया