काठमाडौ । कपिलवस्तुमा सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।
हुलाकी सडकअन्तर्गत कपिलवस्तु नगरपालिका–१२ पिपरहवामा रोकिराखिएको ट्रकमा भारतीय नम्बर प्लेटको स्कारपियो ठोक्किँदा उक्त दुर्घटना भएको हो। शनिबार साँझ बहादुरगञ्जबाट तौलिहवातर्फ आउँदै गरेको यूपी ३२ सीए ८३४३ नम्बरको स्कारपियो लु १ ख ९५४९ नम्बरको रोकिएको ट्रकमा ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा कपिलवस्तु महाराजगञ्ज नगरपालिका–११ का ५० वर्षीय राधेश्याम कुर्मी र शिवराज नगरपालिका–६ धरमनगरकी ५५ वर्षीया चिन्नी कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक सन्तोष आचार्यले जानकारी दिएका छन्। मृतकहरूको शव जिल्ला अस्पताल तौलिहवामा राखिएको छ।
त्यस्तै दुर्घटनामा महाराजगञ्ज नगरपालिका–११ वनगाईका ६५ वर्षीय नन्दप्रसाद दुबे, शिवराज नगरपालिका–१० लालपुरका २८ वर्षीय मोतिलाल कुर्मी र शिवराज नगरपालिका–११ का २० वर्षीय सुरेश कुर्मी घाइते भएका छन्।
दुर्घटनापछि कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ इमिलियाका २८ वर्षीय ट्रक चालक सुरज आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: १३ बैशाख २०८३, आइतबार













प्रतिक्रिया