काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजा कुनै पनि राजनीतिक दलसँग आबद्ध नहुने स्पष्ट पार्दै राप्रपा राजाको पार्टी नभई राजसंस्थामा विश्वास गर्नेहरूको पार्टी भएको बताएका छन्।
पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रमअन्तर्गत शनिबार तनहुँमा सम्पन्न गण्डकी प्रदेशस्तरीय कार्यक्रममा बोल्दै उनले राप्रपा सम्वर्द्धनवादी विचार बोकेको दल भएको दाबी गरे।
राजा र राजसंस्था कुनै दल, संगठन वा विचारधाराभन्दा माथि रहने उल्लेख गर्दै उनले राजसंस्था कुनै पनि पार्टीसँग जोडिन नसक्ने बताए। राप्रपालाई राजाको दल भन्दै प्रचार गर्नेहरू वास्तवमा राजसंस्थाका पक्षधर नभएको उनको भनाइ थियो।
गणतन्त्रात्मक व्यवस्थामा सरकारमा सहभागी हुनुहुँदैन भन्ने धारणा राख्नेहरूप्रति टिप्पणी गर्दै राजेन्द्र लिङ्देनले पदमा नजाँदैमा मात्र पार्टी ठूलो हुने भए नेमकिपा र राष्ट्रिय जनमोर्चा जस्ता दलहरू अझ शक्तिशाली हुनुपर्ने तर्क गरे।
पार्टीभित्र देखिएको विवादका विषयमा उनले निर्वाचनअघिसम्म सबैलाई समेटेर लैजाने प्रयास गरिएको तर त्यसलाई कमजोरी ठानेर केही नेता–कार्यकर्ताले अनुशासनविपरीत काम गरेको भन्दै अब अनुशासनात्मक कारबाही प्रक्रिया अघि बढाइएको बताए।
राप्रपाले हालै सम्पन्न निर्वाचनको समीक्षा प्रदेश–प्रदेशमा गरिरहेको छ। यसअन्तर्गत मधेश, कोशी र गण्डकी प्रदेशमा समीक्षा सम्पन्न भइसकेको छ। आगामी वैशाख १४ गते लुम्बिनी प्रदेशको भैरहवा, वैशाख १५ गते बागमती प्रदेशको काठमाडौं र वैशाख १७ गते सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा समीक्षा बैठक तय गरिएको छ भने कर्णाली प्रदेशको मिति अझै निर्धारण हुन बाँकी रहेको जनाइएको छ।
प्रकाशित मिति: १३ बैशाख २०८३, आइतबार













प्रतिक्रिया