एजन्सी । इराकको अर्ध–स्वायत्त कुर्दिस्तान क्षेत्रमा पछिल्लो समय सुरक्षा अवस्था चिन्ताजनक बनेको छ। स्थानीय अधिकारीहरूका अनुसार फेब्रुअरी २८ देखि अप्रिल २० सम्मको अवधिमा ड्रोन र क्षेप्यास्त्रमार्फत ८०९ वटा आक्रमण भएका छन्। ती घटनामा २० जना सर्वसाधारणको मृत्यु भएको छ भने १२३ जना घाइते भएका छन्।

कुर्दिस्तान क्षेत्रीय सरकारको सञ्चार तथा सूचना विभागले जारी गरेको विज्ञप्तिअनुसार अधिकांश आक्रमण प्रत्यक्ष रूपमा नागरिक बस्ती र निजी सम्पत्तिलाई लक्षित गरिएको थियो। क्षेत्रले जारी क्षेत्रीय द्वन्द्वमा तटस्थ रहने घोषणा गरे पनि आक्रमणबाट नागरिक जीवन र पूर्वाधारमा गम्भीर असर परेको उल्लेख गरिएको छ।

advertisement

विज्ञप्तिमा नागरिक तथा निजी क्षेत्रले सबैभन्दा ठूलो मानवीय र भौतिक क्षति व्यहोरेको जनाइएको छ। एरबिल प्रान्त सबैभन्दा बढी प्रभावित बनेको छ, जहाँ मात्रै ४७७ आक्रमण भएका छन्। तीमध्ये ४१९ ड्रोन र ५८ क्षेप्यास्त्र आक्रमण रहेका छन्। एरबिलमै १० जनाको मृत्यु र ८३ जना घाइते भएका छन्।

कुर्दिस्तान क्षेत्रीय सरकारले विभिन्न ‘आधारहीन कारण’ देखाउँदै नागरिक क्षेत्रमै आक्रमण गरिएको आरोप लगाएको छ। फेब्रुअरी २८ देखि सुरु भएको संयुक्त अमेरिकी–इजरायली सैन्य कारबाहीपछि मध्यपूर्वमा तनाव बढ्दै गएको छ। त्यसको प्रतिक्रियास्वरूप इरान र उसका सहयोगी समूहहरूले अमेरिकी तथा इजरायली स्वार्थ लक्षित गर्दै क्षेत्रभर आक्रमण तीव्र पारेका बताइएको छ।

प्रकाशित मिति: १३ बैशाख २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com