काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले पुराना राजनीतिक दलहरूको कमजोरीकै कारण नयाँ लोकप्रियतावादी शक्तिहरूको उदय भएको बताएका छन्।

१७३औँ विश्व मजदुर दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले लामो समयदेखि सत्तामा रहेका दलहरूको कार्यशैलीप्रति जनतामा बढेको असन्तुष्टिले नयाँ शक्तिहरूलाई स्थान दिएको उल्लेख गरे।

advertisement

उनका अनुसार करिब ३६ वर्षसम्म सत्ता सञ्चालन गरेका कांग्रेस–एमाले र १८ वर्षसम्म शासनमा सहभागी भएका वाम शक्तिहरूका कमजोरीकै आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता नयाँ दलको उदय भएको हो। यस यथार्थलाई स्वीकार गरेर आत्मसमीक्षा गर्न आवश्यक रहेको उनले जोड दिए।

पुनले जनतामा किन निराशा बढ्यो र किन पुराना दल तथा नेताहरूको आलोचना हुँदा जनसमर्थन बढ्यो भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बताए। उनले शिक्षा, श्रम, प्रशासन र विभिन्न पेशागत क्षेत्रमा रहेका संगठनहरूको प्रभावकारी परिचालनमा कमजोरी भएको स्वीकार गर्दै लोकतान्त्रिक संस्थाहरूप्रति जनविश्वास घट्नुको कारण पनि यही भएको औंल्याए।

उनले लोकतान्त्रिक अधिकार खुम्चिँदा समेत जनतामा असन्तुष्टि नदेखिनु गम्भीर चिन्ताको विषय भएको भन्दै यसप्रति दल र नेताहरूले जिम्मेवार बन्नुपर्ने बताए।

विश्व राजनीतिमा उदार लोकतन्त्र कमजोर बन्दै जाँदा नवउदारवादसँगै लोकप्रियतावादको विस्तार भइरहेको उल्लेख गर्दै पुनले यसको प्रभाव नेपालमा पनि देखिएको बताए। उनका अनुसार विभिन्न देशमा रंग, वर्ग, धर्म, जाति वा बहुसंख्यकवादका आधारमा लोकप्रियतावादले स्थान लिँदै गएको छ, जहाँ बहुमतको नाममा फरक मतलाई दबाउने प्रवृत्ति बढ्दो छ।

अन्त्यमा उनले फरक–फरक राजनीतिक एजेण्डा भए पनि वर्तमान संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको पक्षमा रहेका वाम तथा लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य र एकताको आवश्यकता रहेको उल्लेख गरे। साथै श्रमिक, किसान, कर्मचारी लगायत सबै नागरिकका आधारभूत अधिकारको संरक्षणका लागि संयुक्त रूपमा अघि बढ्नुपर्नेमा उनले जोड दिए।

प्रकाशित मिति: १३ बैशाख २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com