काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य माधव सापकोटाले कानुनी अस्पष्टता र तीन तहका सरकारबीचको बजेट दोहोरोपनाका कारण संघीयताको प्रभावकारी कार्यान्वयनमा समस्या देखिएको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानले संघ, प्रदेश र स्थानीय तहलाई स्रोत–साधन प्रयोग गर्ने अधिकार दिएको भए पनि त्यसअनुसार आवश्यक कानुन निर्माण नहुँदा व्यवहारमा अन्तरविरोध उत्पन्न भएको उल्लेख गरे।
उनका अनुसार स्थानीय, प्रदेश र संघीय सरकारले विशेषगरी पूर्वाधार क्षेत्रमा एउटै प्रकृति र चरित्रका योजना तथा बजेट ल्याउँदा दोहोरोपनाको समस्या बढेको छ, जसले कार्यक्षमता घटाएको छ।
सापकोटाले शिक्षा, स्वास्थ्य र कृषिजस्ता आधारभूत क्षेत्रमा स्थानीय तहको बजेट केन्द्रित गर्नुपर्ने आवश्यकता औंल्याए। साथै संविधानअनुकूल आवश्यक कानुन निर्माणका लागि संघीय सरकारले पहल गर्नुपर्नेमा उनले जोड दिए।
उनले पर्याप्त जनमत र इच्छाशक्ति भए संघीयतासम्बन्धी विद्यमान समस्याहरू समाधान गर्न सकिने धारणा पनि व्यक्त गरे।
प्रकाशित मिति: १३ बैशाख २०८३, आइतबार













प्रतिक्रिया