काठमाडौं । २५७०औँ बुद्धजयन्ती का अवसरमा १८ वैशाखमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लुम्बिनी जाने भएका छन्।
लुम्बिनी विकास कोष का अनुसार प्रधानमन्त्री शाहले कार्यक्रममा सहभागी भई पूजाआजा गर्नेछन्, तर औपचारिक सम्बोधन गर्ने कार्यक्रम भने नराखिएको छ। अघिल्ला वर्षहरूमा राष्ट्र वा सरकार प्रमुखले बुद्धजयन्ती समारोहलाई सम्बोधन गर्ने परम्परा रहे पनि यसपटक त्यो अभ्यासलाई निरन्तरता दिइएको छैन।
कोषका सूचना अधिकृत राजन बस्नेत का अनुसार प्रधानमन्त्री पूजामा सहभागी हुनेछन् तर भाषण नगर्ने कार्यतालिका तय भएको छ। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा कोषका अध्यक्ष खड्कराज पौडेल (गनेश) र रुपन्देही–५ का प्रतिनिधिसभा सदस्य तौफिक अहमद खान लगायतको पनि उपस्थिति रहनेछ।
बिहान ५ बजे सुरु हुने कार्यक्रम ६ बजेसम्म सम्पन्न गर्ने योजना छ। कोषको संरक्षकका रूपमा प्रधानमन्त्री रहने कानुनी व्यवस्थाअनुसार उनको सहभागितालाई विशेष महत्वका साथ हेरिएको छ।
प्रकाशित मिति: १४ बैशाख २०८३, सोमबार












प्रतिक्रिया