काठमाडौं । श्रम संस्कृति पार्टीले देशभर रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई एकीकृत रूपमा संगठित गर्ने अभियान सुरु गर्ने घोषणा गरेको छ ।
सरकारले नदी उकास तथा सार्वजनिक जग्गामा बसोबास गर्दै आएका सुकुम्बासीलाई हटाउने अभियान तीव्र बनाएको भन्दै पार्टी अध्यक्ष हर्क साम्पाङले त्यसको प्रतिवादस्वरूप देशव्यापी संगठन विस्तार गर्ने निर्णय सार्वजनिक गरेका हुन् ।
उनले पार्टीका सबै जिल्ला र पालिका समितिहरूलाई सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई संगठित गर्न सक्रिय रूपमा अभियान सञ्चालन गर्न निर्देशन दिएका छन् ।
सरकारले बस्ती हटाउने प्रक्रिया सुरु गरेदेखि नै साम्पाङले यसको निरन्तर विरोध गर्दै आएका छन् । बस्ती हटाइएपछि उनले सामाजिक सञ्जालमार्फत सुकुम्बासीलाई एकजुट हुन आह्वान गर्दै यसको नेतृत्व श्रम संस्कृति पार्टीले गर्ने बताएका छन् ।
बस्ती भत्काउनुअघि केही विपक्षी दलहरूले विरोध जनाए पनि भत्काइएपछि उनीहरूको स्पष्ट धारणा सार्वजनिक नभएको उल्लेख गरिएको छ ।
सरकारले शनिबारदेखि काठमाडौँ उपत्यकाभित्रका नदी उकास तथा सार्वजनिक जग्गामा बनेका अस्थायी संरचनाहरू हटाउने अभियान थालेको हो । यस क्रममा थापाथली, सिनामंगलस्थित बागमती नदी किनार तथा मनोहरा खोला आसपासका बस्तीमा डोजर प्रयोग गरिएको छ ।
विस्थापित सुकुम्बासीहरूलाई हाल कीर्तिपुरस्थित सत्सङ भवन तथा केहीलाई होटलहरूमा अस्थायी रूपमा राखिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुकुम्बासीहरूको विवरण संकलन भइरहेको छ, जहाँ सोमबारसम्म सयौँ परिवार दर्ताका लागि पुगेका छन् ।
सरकारले उनीहरूलाई नागार्जुनको इचंगुस्थित अपार्टमेन्टमा स्थानान्तरण गर्ने योजना बनाएको भए पनि बस्ती हटाएपछि मात्र त्यहाँ मर्मत कार्य भइरहेको पाइएको छ ।
प्रकाशित मिति: १४ बैशाख २०८३, सोमबार













प्रतिक्रिया