काठमाडौं। आजदेखि देशभर विद्यालय तहमा नयाँ शैक्षिकसत्र २०८३ औपचारिक रूपमा सुरु भएको छ।

सरकारको निर्णयअनुसार हरेक वर्ष वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्र सञ्चालन गर्ने व्यवस्था लागू गरिएको हो।

advertisement

यसअघि वैशाख २ गतेदेखि शैक्षिकसत्र सुरु हुँदै आए पनि वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयहरूले भर्ना प्रक्रिया अघि बढाउने प्रवृत्ति रोक्न तथा विभिन्न प्रशासनिक व्यवस्थापनलाई सहज बनाउन मिति परिवर्तन गरिएको थियो।

यद्यपि कतिपय स्थानीय तहको सहजीकरणमा वैशाख १५ अगावै केही विद्यालयहरूले विद्यार्थी भर्ना प्रक्रिया सुरु गरिसकेका छन्।

सरकारले भने कानुनअनुसार निर्धारित समयपछि मात्रै भर्ना प्रक्रिया सञ्चालन गर्न निर्देशन दिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत चैत २२ गते निजी (संस्थागत) विद्यालयहरूले कानुनविपरीत लिँदै आएको भर्ना शुल्क तथा अन्य अतिरिक्त शुल्क फिर्ता गराउन स्थानीय तहहरूलाई निर्देशन दिएको थियो।

मन्त्रालयले शुल्क निर्धारण मापदण्ड निर्देशिका, २०७२ ले तोकेबाहेक अन्य शुल्क असुल भए कानुनी प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।

यसैबीच सर्वोच्च अदालतले पनि वार्षिक परीक्षाको नतिजा प्रकाशित नभएसम्म, आवश्यक प्रमाणपत्र नदिइएसम्म तथा शैक्षिकसत्र सुरु नभएसम्म भर्ना सूचना प्रकाशित नगर्न अन्तरिम आदेश दिएको थियो।

न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले शिक्षा नियमावली, २०५९ अनुसार शैक्षिकसत्र सुरु भएपछि मात्र विद्यार्थी भर्ना प्रक्रिया सञ्चालन गर्न आदेश दिएको थियो।

अदालतले परीक्षा नतिजा, शैक्षिकसत्र र प्रमाणपत्र वितरणबीच समन्वय कायम गर्नुपर्ने उल्लेख गरेको छ।

शिक्षा मन्त्रालय तथा शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरले पनि वार्षिक परीक्षा सम्पन्न गरी नतिजा प्रकाशनपछि मात्र नयाँ शैक्षिकसत्रमा भर्ना कार्यक्रम सञ्चालन गर्न यसअघि निर्देशन जारी गरेका थिए।

नयाँ शैक्षिकसत्र सुरु भएसँगै देशभर विद्यालयहरूमा पाठ्यपुस्तक वितरण, नयाँ कक्षा सञ्चालन र विद्यार्थी भर्ना गतिविधि तीव्र हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com