काठमाडौं। नेपाल टेलिकम (एनटिसी) ले प्रिपेड सेवाअन्तर्गतका २८ दिन अवधिका सबै प्याकेजलाई अब ३० दिनको बनाएको छ।
यससँगै ग्राहकले पहिलेभन्दा लामो अवधि एउटै प्याकेज प्रयोग गर्न सक्ने भएका छन्।
कम्पनीका अनुसार ‘कम्बो–२९९’ प्याकेजको अवधि गत चैत २४ गतेदेखि नै २८ दिनबाट बढाएर ३० दिन कायम गरिएको थियो।
सोही अभ्यासअनुसार अन्य सबै २८ दिने प्याकेजहरूलाई पनि वैशाख ११ गतेदेखि लागू हुनेगरी केही मूल्य समायोजनसहित ३० दिनको बनाइएको हो।
एनटिसीका प्रवक्ता रविन्द्र मानन्धरले यो परिवर्तनबाट ग्राहकले प्रत्यक्ष लाभ पाउने बताएका छन्।
उनका अनुसार अब महिनामा एकपटक मात्र रिचार्ज गरे पुग्ने भएकाले सेवा प्रयोग अझ सहज हुनेछ।
कम्पनीले उही मूल्यमा दुई दिन अतिरिक्त सेवा उपलब्ध हुने भएकाले डेटा, भ्वाइस र एसएमएस प्रयोगमा थप सुविधा मिल्ने जनाएको छ।
यसलाई एनटिसीले उपभोक्तामैत्री सुधारका रूपमा प्रस्तुत गरेको छ।
यस निर्णयले खर्च व्यवस्थापनमा सहजता ल्याउने, ग्राहक सन्तुष्टि बढाउने र दूरसञ्चार क्षेत्रमा प्रतिस्पर्धा अझ सक्रिय बनाउने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया