काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पाले विद्यार्थी संगठन र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गर्ने विषयमा नेपाली कांग्रेसको स्पष्ट धारणा माग गरेका छन्।

नेविसंघ अध्यक्ष शेर्पाले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा बसेको भातृ तथा शुभेच्छुक संस्थाहरूको सदस्यता अद्यावधिकसम्बन्धी बैठकमा यस्तो माग राखेका हुन्। बैठकमा उनले नेविसंघको विधान, स्ववियुको भूमिका तथा समसामयिक राजनीतिक अवस्थाबारे पार्टीको आधिकारिक दृष्टिकोण आवश्यक रहेको बताएका थिए।

advertisement

शेर्पाले करिब दुई वर्षअघि पारित भएको भनिएको नेविसंघको नयाँ विधान अहिलेसम्म केन्द्रीय समितिमा उपलब्ध नगराइनु आपत्तिजनक भएको उल्लेख गर्दै संगठनलाई विधि र विधानअनुसार सञ्चालन गर्न तत्काल सार्वजनिक गर्नुपर्ने आवश्यकता औंल्याए।

त्यस्तै, सरकारले विद्यार्थी संगठनहरू तथा स्ववियु खारेज गर्ने तयारी गरिरहेको चर्चा भइरहेकाले यस विषयमा पार्टीको स्पष्ट र औपचारिक धारणा सार्वजनिक गर्न उनले आग्रह गरेका छन्।

उनका अनुसार स्ववियु विद्यार्थीहरूको हक–अधिकार संरक्षणसँगै नेतृत्व विकासको आधार हो। “यो कुनै राजनीतिक दलसँग आबद्ध संस्था होइन, विद्यार्थी नेतृत्व विकासको महत्वपूर्ण अभ्यास हो,” भन्दै उनले यसको खारेजीबारे कांग्रेसले प्रष्ट अडान लिनुपर्ने बताएका छन्।

प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com