काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलसँग जोडिएको विवादमा ओखलढुंगास्थित एक विद्यालयका प्रधानाध्यापक सन्तबहादुर मगरले क्षमायाचना गरेका छन्।
खिजीदेम्बा गाउँपालिका–२ रगनीमा रहेको श्री चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक मगर र विद्यालय व्यवस्थापन समिति (विव्यस) का अध्यक्ष टेकबहादुर बुढाथोकीले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै सांसद पोखरेलप्रति क्षमा मागेका हुन्।
गत वैशाख १० गते विद्यालय भ्रमणका क्रममा आफूलाई गेटमा स्वागत गर्न नआएको भन्दै सांसद पोखरेलले प्रधानाध्यापक मगरलाई हप्काएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाले व्यापक चर्चा पाएको थियो। त्यसपछि सांसद पोखरेलको आलोचना बढेपछि उनले पनि प्रधानाध्यापकसँग क्षमा मागेका थिए।
घटनापछि विद्यालयले तत्काल कुनै औपचारिक धारणा सार्वजनिक नगरे पनि मंगलबार जारी विज्ञप्तिमार्फत उक्त घटनाबाट सांसद पोखरेलको मान–मर्यादामा परेको असरप्रति दुःख व्यक्त गर्दै पुनः क्षमायाचना गरिएको जनाएको छ।
विज्ञप्तिमा जनाइएअनुसार, सो दिन बिहान ९ बजे सांसद पोखरेल विद्यालयका समस्या तथा शैक्षिक गतिविधिबारे जानकारी लिन पूर्वनिर्धारित कार्यक्रमअनुसार विद्यालय पुगेका थिए। त्यतिबेला प्रधानाध्यापक मगर विद्यालयका मागहरू समेटिएको प्रस्ताव तयार गर्न आफ्नो कार्यकक्षमा व्यस्त रहेका कारण सांसदको आगमनबारे तत्काल जानकारी पाउन सकेका थिएनन्।
केही समयपछि जानकारी पाएर मागपत्रसहित स्वागतका लागि बाहिर निस्कँदा सांसद पोखरेल विद्यालयबाट बाहिरिइसकेको विज्ञप्तिमा उल्लेख छ। त्यसपछि विद्यालयको गेटमा भेट हुँदा प्रधानाध्यापकले क्षमा माग्दै मागपत्र पेश गरेका र त्यसपश्चात् कार्यालयमा बसेर विभिन्न विषयमा छलफल भई सौहार्दपूर्ण वातावरणमा भेटघाट सम्पन्न भएको विद्यालयले जनाएको छ।
विद्यालयले उक्त घटनाबाट सांसद पोखरेलको गरिमा र प्रतिष्ठामा पुगेको असरप्रति पुनः क्षमायाचना व्यक्त गरेको छ।

प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया